विश्वकपको 'प्राइज मनी' ५.६ मिलियन डलर यसरी बाँडफाँट हुनेछ

एजेन्सी: गत आइतबार टी ट्वेन्टी विश्वकप २०२२ समापन भयो। इङ्ग्ल्याण्डले पाकिस्तानलाई पाँच विकेटले हराउँदै विश्वकपको उपाधि हात पार्यो।
उपाधिसँगै अब इङ्ग्ल्याण्डले १.६ मिलियन अमेरिकी डलर प्राइज मनी पाउने भएको छ। आजको विनिमय दरअनुसार यो भनेको २० करोड ८५ लाख १२ हजार रुपैयाँ हो।
कुल ५.६ मिलियन अमेरिकी डलर प्राइज मनीमध्ये उपविजेता पाकिस्तानले आठ लाख अमेरिकी डलर अर्थात् १० करोड ४२ लाख ५६ हजार रुपैयाँ पाउनेछ।
सेमिफाइनलिस्ट भारत र न्युजिल्याण्डले समान ४-४ लाख अमेरिकी डलर अर्थात् ५ करोड २१ लाख २८ हजार रुपैयाँ पाउनेछन्।
सुपर १२ मा रहेका सेमिफाइनलिस्टबाहेकका आठ टोलीले ७० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। यो भनेको ९१ लाख २२ हजार ४०० रुपैयाँ हो। यस्तै सुपर १२ का ३० खेलमा भएका प्रत्येक जितबापत उक्त विजेता टोलीले ४० हजार अमेरिकी डलर अर्थात् ५२ लाख १२ हजार ८०० रुपैयाँ पाउनेछन्।
यस्तै सुपर १२ नपुग्दै क्वालिफायर राउण्डबाटै बाहिरिएका टोली यूएई, स्कटल्याण्ड, नामिबिया र वेष्ट इण्डिजले पनि ४०-४० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। यसका साथै उनीहरूले पनि प्रत्येक जितबापत ४० हजार डलर थप पाउनेछन्।
कात्तिक २९, २०७९ मंगलबार १२:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।