२० वर्षीया सम्झना र उनकी तीन वर्षकी छोरी कृष्टिनाको हत्या अभियोगमा एक जना पक्राउ

२० वर्षीया सम्झना र उनकी तीन वर्षकी छोरी कृष्टिनाको हत्या अभियोगमा एक जना पक्राउ

काठमाडौं: नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।

खड्काका अनुसार ती व्यक्ति घरेलु हतियारसहित उक्त घरतर्फ गएको, घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएको छ।

घटनालगत्तै उनी फरार रहेको पाएपछि काठामाडौंतर्फ जान लागेको समयमा आज बिहान पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउन लागिएको छ।

२० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको छ।

धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको थियो।

कात्तिक २९, २०७९ मंगलबार ०८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।