फेल हुने परीक्षार्थी पास गराएको र पास हुनेको उत्तरपुस्तिकामै केरमेट गरेको पाइएपछि अख्तियारमा मुद्दा दर्ता

फेल हुने परीक्षार्थी पास गराएको र पास हुनेको उत्तरपुस्तिकामै केरमेट गरेको पाइएपछि अख्तियारमा मुद्दा दर्ता

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका मानविकी र सामाजिकशास्त्र सङ्कायका सहायक डीन र सहप्राध्याकविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। सो विश्वविद्यालयका सहायक डीन एवं परीक्षा समितिका संयोजक कमलेश डिसी र अङ्ग्रेजी विषयका विज्ञ एवं सहप्राध्याक डा विनयकुमार दासविरुद्ध मुद्दा दायर गरिएको हो।

उनीहरूले परीक्षाको सामान्य मूल्य–मान्यता विपरीतको गतिविधि गरेको तथा प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको अभियोग छ।

यस्तै अनुत्तीर्ण हुने प्रकृतिको उम्मेदवारलाई उत्तीर्ण गराएको र उत्तीर्ण हुने उम्मेदवारको उत्तरपुस्तिकमा पटकपटक केरमेट गरी घटाएर अनुत्तीर्ण गरे/गराएको देखिएको, अन्तरवार्ताका क्रममा अन्तरवार्ताअगावै सहभागी उम्मेदवारको उत्तरपुस्तिका माग गरी सम्बन्धित परीक्षार्थीको सिम्बोल नम्बर राखेर सङ्केत गरेको पाइएको आयोगको ठहर छ।

अङ्ग्रेजी विषयमा विज्ञ समेत रहेका दासले परीक्षाको सामान्य मूल्य र मान्यता नराखेको पाइएको छ। परीक्षा समितिका संयोजक सहायक डीन डिसीले पनि त्यस्तै खालको बदमासी गरी भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसूरमा कारबाहीको माग गरिएको छ।

कात्तिक २८, २०७९ सोमबार २०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।