समानुपातिकतर्फको बन्दसूचीबाट तेस्रोलिङ्गीको नाम हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

समानुपातिकतर्फको बन्दसूचीबाट तेस्रोलिङ्गीको नाम हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं: सर्वोच्च अदालतले लैङ्गिक पहिचान फरक परेका कारण तेस्रोलिङ्गीलाई समानुपातिकतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आज निर्वाचन आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

आदेशमा भनिएको छ, “लैङ्गिक तथा अल्पसङ्ख्यकले मानसिक पीडा भोग्नुपर्ने अवस्था समेतलाई मध्यनजर गर्दा सो कार्य तत्काल रोक्नु आवश्यक देखिँदा अन्य कुरामा पछि ठहरेबमोजिम हुने गरी हाल निवेदनको नाम प्रनिनिधि सभाको समानुपातिकतर्फको बन्दसूचीबाट हटाउनेसम्बन्धी निर्णय र पत्राचार समेत कार्यान्वयन नगरी बन्दसूचीमा यथावत् राख्नू।”

आयोगले बन्दसूची र नागरिकतामा लैङ्गिक पहिचान फरक परेका प्रतिनिधि सभाका १७ र प्रदेश सभाका २० गरी ३७ जना उम्मेदवारको नाम समानुपातिकतर्फको बन्दसूचीबाट हटाएको थियो।

एकीकृत समाजवादीले तेस्रोलिङ्गी पहिचानमा नागरिकता लिएकी डिलु बुदुजा नाम बन्दसूचीमा राखेको थियो। आयोगले बन्दसूचीबाट नाम हटाउने निर्णयविरुद्ध उक्त पार्टीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो। रिट निवेदनमा गैरकानूनीरूपमा बन्दसूचीबाट उम्मेदवारी हटाउने निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएकाले आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरिएको थियो।

कात्तिक २८, २०७९ सोमबार २०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।