नक्कली सुन धितो राखेर राष्ट्रिय वाणिज्य बैंकबाट २४ लाख ठगी

नक्कली सुन धितो राखेर राष्ट्रिय वाणिज्य बैंकबाट २४ लाख ठगी

कास्की : विभिन्न मितिमा नक्कली सुनका गहना धितो राखेर राष्ट्रिय वाणिज्य बैंकबाट २४ लाख ५ हजार रुपैयाँ ठगी भएको छ।

राष्ट्रिय वाणिज्य बैंकको पोखरा महानगरपालिका–१७ बिरौटा शाखाबाट १६ लाख ६० हजार रूपैयाँ र पृथ्वीचोक शाखाबाट ७ लाख ४५ हजार रूपैयाँ गरी जम्मा २४ लाख ५ हजार रूपैयाँ ठगी भएको हो।

उक्त रकम ठगी गरेको अभियोगमा पर्वत कुश्मा नगरपालिका–३ घर भई पोखरा महानगरपालिका–१८ सराङकोट बस्ने २५ वर्षीय अभिसेक सुनारलाई प्रहरीले पक्राउ गरेको छ।

उनले बैंको बिरौटा र पृथ्वीचोक शाखाबाट २४ लाख ५ हजार रूपैयाँ कर्जा लिए लामो समयसम्म साँवाव्याज बुझाउन नआएपछि धितोको गहना जाँच गर्दा कमसल सुन प्रयोग गरी तयार गरिएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

जाँच गर्दा धितो राखिएका सबै गहनाहरू नक्कली सुनबाट तयार गरिएको खुल्न आएको छ। सुनारमाथि जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक २८, २०७९ सोमबार १९:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।