रवि लामिछानेबारे ओलीले भने– ‘एउटा घण्टी बजाउँदा तर्सिएर गठबन्धनले गाडीमा ढुंगा हानेछ’

काठमाडौं : चुनाव प्रचारको क्रममा आइतबार चिनवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गाडीमाथि भएको ढुंगा प्रहारबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन्।
सोमबार चितवनमा भएको एक कार्यक्रममा ओलीले एउटा युवा चुनाव लड्न आउँदा गठबन्धन टिप्पणी गरे।
‘युवाहरु आए, राजनीतिमा रुचि राखे, राम्रो कुरा हो, ४ गतेसम्म कुद्छन्, ठिक छ नि, अनि ढुंगा हान्ने ?’ उनले भने, ‘कति आत्तिएको होला, कति डराएको होला गठबन्धन। तर्सिएर गाडीमा ढुंगा हान्न पुगेछन्।’
अध्यक्ष ओलीले गुण्डागर्दी र यस्ता कामको भर्त्सना गर्दै दोषीलाई प्रहरी प्रशासनले तत्काल कारबाही गर्नुपर्नेमा जोड दिए। उनले निर्वाचनमा सबैले प्रचार गर्न पाउनुपर्ने अवस्था बनाउनसमेत आग्रह गरे।
‘ए बाबा, के बजाको छ, एउटा घण्टी बजाउन पनि नदिने? अनि ढुंगा हान्न जाने?’ उनले भने, ‘दमाहा बजाएको पनि होइन, नरसिंगा बजाइदिएको पनि होइन, एउटा घण्टी बजाउँदा कति आत्तिएको हो।’
लामिछानेको टिम सवार गाडीमा आइतबार चितवनको कुरिनटारमा गठबन्धनका कार्यकर्ताले आक्रमण गरेका थिए।
कात्तिक २८, २०७९ सोमबार १५:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।