रुपन्देहीमा वामदेव अभियानको दोहोरो चरित्र, विष्णु पौडेलपछि बालकृष्ण खाँणलाई समर्थन

रुपन्देहीमा वामदेव अभियानको दोहोरो चरित्र, विष्णु पौडेलपछि बालकृष्ण खाँणलाई समर्थन

भैरहवा : बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देहीमा दोहोरो चरित्र देखाएको छ।

रुपन्देही–२ मा एमाले उपाध्यक्ष विष्णु पौडेललाई समर्थन गरेको अभियानले रुपन्देही–३ मा सत्ता गठबन्धनकाका तर्फबाट कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई सहयोग गर्ने भएसँगै उसको दोहोरो चरित्र देखिएको हो।

अभियानले सोमबार भैरहवामा पत्रकार सम्मेलन रुपन्देही–३ मा खाँणलाई सहयोग गर्ने जनाएको हो। अभियानका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्यालले लोकतन्त्र र मुलुकको परिवर्तनमा योगदान दिएको कांग्रेस र यसका नेता खाँणलाई सहयोग गर्ने निर्णय गरेको बताए।

ठूला परिवर्तनमा सहयोद्धा भएर काम गरेका खाँण र कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने नीतिअनुसार क्षेत्र नम्बर ३ मा उनलाई सहयोग गर्ने निर्णय भएको उनले बताए। यस क्षेत्रमा आफ्नो २ हजार २ सय मत रहेको उनको दाबी छ।

पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको आवश्यकतालाई हेरेर आफूहरूलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे। उनले यो निर्वाचनलाई सफलता प्रदान गर्न एकता अभियानले गरेको सहयोग महत्वपूर्ण हुने पनि समेत बताए।

यस अघि बुटवलमा अभियानले पत्रकार सम्मेलन गर्दै नेकपा एकताबद्ध बनाउन अन्तिम अवस्थासम्म प्रयत्न गरेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई समर्थन गर्ने जनाएको थियो।अभियानले पौडेललाई समर्थन गरे पनि आफ्नो समर्थन एमालेलाई नरहेको स्पष्ट पारेको छ।

कात्तिक २८, २०७९ सोमबार १३:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।