आयाेगकाे लापरबाही : ‘मतदान गर्ने सही तरिका’ भनिएको विज्ञापनमै दुई चिन्हको बीचमा स्वस्तिक छाप

काठमाडौं : निर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले मतदाता शिक्षाका लागि प्रचारप्रसारलाई तीव्र बनाएको छ।
उसले पत्रिका, टेलिभिजन, रेडियो र अनलाइन सञ्चारमाध्यमबाट मतदाता शिक्षाका लागि प्रचारप्रसार गरिरहेको छ। यसै क्रममा सोमबार आयाेगले गोरखापत्रमा दिएको विज्ञापनमा त्रुटि भेटिएको छ।
आयोगले दिएको विज्ञापनकाे मतपत्रमा दुई चिन्हको बीचमा स्वस्तिक छाप लगाइएको छ। यो कुनै गलत वा सही मतपत्रको बीचको छुट्याइएको बारे बुझाउन गरिएकाे विज्ञापन होइन। विज्ञापनमा बकाइदाले भनिएको छ, ‘मतदान गर्ने सही तरिका’।
‘प्रत्येक मतदाताले चार वटा छुट्टाछुट्टै मतपत्रमा मत संकेत गरी क्रमशः छुट्टाछुट्टै मतपेटिकामा मतपत्र खसाल्नुपर्छ’ भनेर लेखिएको विज्ञापनमा चार वटा मतपत्र र त्यति नै मतपेटिका देखाइएको छ।
सेतो पृष्ठभूमिमा रातो रङले छापिएको पहिलाे मतपत्र छ, जसमा दुई चिन्हको बीचमा स्वस्तिक छाप लगाइएको छ।
यसरी छाप लगाइएको मतपत्रलाई गलत भनेर उक्त विज्ञापनमै कतै पनि उल्लेख गरिएकाे छैन। अझ त्यसैलाई मतपेटिकामा खसालेर अर्को मतपत्रमा पनि त्यसैगरी दुई चिन्हकाे बीचमा छाप लगाउन सिकाइएको छ।
दोस्रो, तेस्रो र चौथो मतपत्रमा पनि दुई चिन्हकाे बीचमै मतदान गरिएकाे देखाइएकाे छ। अर्थात् त्यहाँ पनि सही तरिकाले मतदान गरिएको छैन।
ती सबै मतपत्रमा दुई चिन्हबीचको घेरामा चिन्ह लगाइएको छ। यसरी चिन्ह लगाउँदा मत बदर हुन्छ भनेर उसले छुट्टै सामग्रीमा प्रचार गर्दै आएको छ।
आयोगले मतदाता शिक्षाका लागि गरेको विज्ञापनमा त्रुटि हुँदा त्यसले धेरै मतपत्र बदर हुने अवस्था आउने कुरा कसैले पनि नकार्न सक्दैन।
कात्तिक २८, २०७९ सोमबार १३:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।