क्रिस्टियानो रोनाल्डो भन्छन्- 'म्यानचेष्टर यूनाइटेडले धोका दिएको महसुस हुन्छ'

क्रिस्टियानो रोनाल्डो भन्छन्- 'म्यानचेष्टर यूनाइटेडले धोका दिएको महसुस हुन्छ'

एजेन्सी: चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले आफूले म्यानचेष्टर यूनाइटेडबाट धोका पाएको महसुस गरेको बताएका छन्। उनले आफूलाई क्लबबाट निस्कन दबाब दिएको पनि बताएका छन्।

टक टीभी नामको कार्यक्रममा बोल्दै उनले भने, 'प्रशिक्षक (एरिक ह्याग)मात्र होइन क्लबका अरू दुई-तीन जनाले निकाल्न खोजेका छन्। मैले धोका पाएको महसुस गरेको छु।'

यस्तै उनलाई क्लबका सिनियर कार्यकारीहरूले निकाल्न खोजेका हुन् कि त भन्ने प्रश्नमा उनले भने, 'मलाई मतलब छैन। मान्छेले सत्य कुरा थाहा पाउनुपर्छ।' उनले थप भने, 'हो, मैले धोका पाएको महसुस गरेँ। केही मान्छे मलाई यहाँ भएको हेर्न चाहँदैनन्। यो वर्ष मात्र होइन, गत वर्ष पनि यस्तै थियो।'

रोनाल्डोको यो खुलासापछि हाल क्लब म्यान्चेष्टर यूनाइटेडको प्रतिक्रिया माग गरिएको छ।

यस्तै रोनाल्डोले गत ६ नोभेम्बरबाट बिरामी भएका कारण खेलेका पनि छैनन्। उनलाई प्रिमियर लिगमा चेल्सीविरुद्धको खेलमा टिममा समेत राखिएको थिएन। यो काम प्रशिक्षक ह्यागले नै गरेका थिए। किनकि त्यसअघिको टोटनह्यामविरुद्धको खेलमा रोनाल्डोले सब्स्टिच्युट खेलाडीको रूपमा खेल्न चाहेका थिएनन्।

यसैकारण रोनाल्डोले आफूलाई प्रशिक्षक ह्यागमाथि कुनै सम्मान नभएको पनि बताए। 'म उनलाई सम्मान गर्दिनँ किनकि उनले मलाई सम्मान गर्दैनन्। यदि तपाईंले मलाई सम्मान गर्नुभएन भने म पनि तपाईंलाई सम्मान गर्दिनँ।'

कात्तिक २८, २०७९ सोमबार ११:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।