टी ट्वेन्टी विश्वकपको 'टिम अफ द टुर्नामेन्ट' सार्वजनिक, चार इङ्ग्लिस र दुई पाकिस्तानी खेलाडी सामेल

एजेन्सी: हिजो सम्पन्न टी ट्वेन्टी विश्वकप २०२२ को 'टिम अफ द टुर्नामेन्ट' सार्वजनिक भएको छ। टिम अफ द टुर्नामेन्टमा विश्वकपमा सहभागी राष्ट्रबाट उत्कृष्ट खेलाडी छनोट गरेर एउटा काल्पनिक टोली बनाइन्छ।
विश्वकपको उपाधि हिजो इङ्ग्ल्याण्डले जित्यो। पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जित्ने इङ्ग्लिस टोलीका चार खेलाडी यसपटकको टिम अफ द टुर्नामेन्टमा छनोट भएका छन्। ओपनिङ जोडीमा एलेक्स हेल्स र जस बट्लर तथा फास्ट बलिङ स्क्वाडमा साम करन र मार्क वुड छानिएका हुन्।
यस्तै उपविजेता पाकिस्तानका दुई खेलाडी छनोट भएका छन्। स्पिन बलिङतर्फ शादाब खान र पेसरमा शाहीनशाह अफ्रिदी छानिएका छन्।
सेमिफाइनलसम्म पुगेको भारतको दुई खेलाडी टिम अफ द टुर्नामेन्टमा छन्। तेस्रो नम्बरको ब्याट्सम्यानमा विराट कोहली र चौथो ब्याट्सम्यानको रूपमा सूर्यकुमार यादव छानिएका छन्।
सेमिफाइनलसम्मैको यात्रा तय गरेको न्युजिल्याण्डका ग्लेन फिलिप्स पनि मध्यक्रमका ब्याट्सम्यानको रूपमा टिम अफ द टुर्नामेन्टमा छानिएका छन्।
जिम्बावेका भेटरान अल-राउण्डर शिकन्दर राजा पनि यो टिममा छन्। जिम्बावेका सर्वाधिक रन स्कोरर राजाले प्रतियोगिताभरि १० विकेट समेत लिए। उनले १४७.९७ को स्ट्राइक रेटमा २१९ रन बनाएका थिए।
बलिङ स्क्वाडमै छानिएका छन्- दक्षिण अफ्रिकाका एनरिक नोर्खिया। प्रतियोगितामा कुल ११ विकेट लिएका उनको बलिङले सुपर १२ मा प्रतिस्पर्धी टोलीलाई आच्छु-आच्छु बनाएको थियो।
यस्तै टोलीको १२औँ सदस्यको रूपमा छानिएका छन् भारतका हार्दिक पाण्ड्या। भारतीय अल-राउण्डर पाण्ड्याले ६ खेलमा ८ विकेट लिए भने भारतीय टोलीका तेस्रो सर्वाधिक रन बनाउने खेलाडी भए।
कात्तिक २८, २०७९ सोमबार ०९:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।