कर्णाली प्रदेशभर १४ हजार ८०७ सुरक्षाकर्मी परिचालन

कर्णाली प्रदेशभर १४ हजार ८०७ सुरक्षाकर्मी परिचालन

काठमाडौं: आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि कर्णाली प्रदेशभर १४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार ८०७ जना सुरक्षा जनशक्ति परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन मतदानस्थलमा पाँच हजार ७२९ जना नेपाल प्रहरी र नौ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार ८०७ जना सुरक्षाकर्मी खटाइएको हो।

प्रहरीबाट मतदानस्थल रहेको वडा क्षेत्रमा पैदल गस्ती हुनेछ। प्रवक्ता श्रेष्ठले भने, “प्रत्येक नगरपालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाइएको छ। निर्वाचनलाई शान्तिपूर्ण बनाउन लागिपरेका छौँ।”

प्रदेश कमाण्ड पोष्टबाट प्रदेशस्तरीय निर्वाचन सुरक्षा बैठकबाट निर्णय भई हुम्ला, डोल्पालगायतका जिल्लामा हिमपात र भौगोलिक विकटताका कारण निर्वाचनस्थलमा निर्वाचन सामग्री र निर्वाचनपश्चात् मतपेटिका ढुवानीको लागि हेलिकप्टरको व्यवस्था मिलाएको उनले बताए।

उनले भने, “माथिल्लो कर्णालीका जिल्लामा अब हिमपात पनि सुरु भइसकेको छ, यस्तो अवस्थामा हामीले मतपेटिका ढुवानी तथा अन्य सामग्री ओसारपसारको लागि हेलिकप्टरको प्रबन्ध पनि गरेका छौँ।”

कर्णालीमा सुरक्षाका दृष्टिकोणले दुई सयभन्दा धेरै मतदानस्थल अति संवेदनशील मानिएका छन्। प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि २६७ वटा मतदानस्थल अति संवेदनशील रहेका हुन्।

कर्णालीमा १० लाखभन्दा धेरै मतदाता रहेका छन्।

कात्तिक २८, २०७९ सोमबार ०८:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।