यी पाँच कारण ३० वर्षपछि इतिहास रच्न चुक्यो पाकिस्तान (तस्बिरसहित)

काठमाडौं : अस्ट्रेलियाकाे मेलबर्न क्रिकेट मैदानमा खेलिएको ट्वेन्टी–२० विश्वकपको फाइनलमा इंग्ल्याण्डले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्यो। योसँगै उ दोस्रो पटक टी–२० फरम्याटको विश्व च्याम्पियन बनेको छ।
इंल्यान्ड ट्वेन्टी–२० विश्वकप र एकदिवसीय विश्वकपको उपाधि एकै पटक जित्ने पहिलो टोली हो। दुवै फरम्याटमा शानदार जित निकाल्न बेन स्टोक्स र साम करनले महत्वपूर्ण भूमिका खेलेका थिए।
स्टोक्सले अविजित ५२ रन बनाउँदा करनले मात्र १२ रन खर्चिएर तीन महत्वपूर्ण विकेट लिए। खेलको प्लेयर अफ द म्याचको अवार्ड पनि उनैले पाए।
जितका लागि इंग्ल्यान्डले उत्कृष्ट खेल प्रस्तुत गर्दा पाकिस्तानले धेरै गल्ती गर्न पुग्यो। जसकारण उसले ३० वर्षपछि इतिहास रच्ने सुनौलो मौका गुमाएको छ। यसअघि पाकिस्तानी टीमले सन् १९९२ मा विश्वकप उचालेको थियो।
हामीले पाकिस्तानको हारको मुख्य पाँच कारण खोतल्ने प्रयास गरेका छौं।
असफल ओपनर जोडी
पूरै प्रतियोगिता जस्तै फाइनल खेलमा पनि पाकिस्तानको ओपनर जोडीले ठूलो खेल देखाउन सकेन। स्टार ब्याट्सम्यान मोहम्मद रिजवान मात्र १५ रन बनाएर पेभेलियन फर्किए। त्यस्तै, बाबर आजमले पनि २८ बलमा ३२ रन मात्र बनाउन सके। कप्तानको खराब फर्मले पाकिस्तानलाई समस्यामा पार्यो।
खराब पावरप्ले
टस हारेर ब्याटिङ गरेको पाकिस्तानी टोलीले पावरप्लेको सही सदुपयोग गर्न सकेन। पाँचौं ओभरमा रिजवानको विकेट जाँदा टोली दबाबमा परेको थियो। पावरप्लेको ६ ओभरमा पाकिस्तानले ३९ रन मात्र जोड्न सक्यो। यति बेला क्रिजमा रहेका बाबर आजमले १६ बलमा १६ र मोहम्मद हरिसले ७ बलमा चार रन बनाएका थिए।
सानो टारगेट
पाकिस्तानले आफ्नो इनिङ्समा लगातार विकेट गुमाएको कारण ब्याटिङले गति नदेखेपछि निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रन बनाएको थियो। जुन इंग्ल्याण्डका लागि गतिलो लक्ष्य थिएन। टोलीका लागि शान मसुदले सर्वाधिक ३८ रन बनाए। फाइनल जस्तो ठूलो खेलमा पाकिस्तान राम्रो लक्ष्यबाट ३० रन टाढा रह्यो। १६७ को लक्ष्य दिएको भए उसले खेल जित्नसक्ने देखिन्थ्यो।
टुटेनन् स्टोक्स
बेन स्टोक्सले फेरि एकपटक उपाधि जिताउन आफ्नो टोलीका लागि म्याच जिताउने इनिङ खेले। उनले ४९ बलमा ५ चौका र एक छक्कासहित अविजित ५२ रन बनाए। स्टोक्सले अवसर अनुसार ब्याटिङ गरे। उनले आफ्नो विकेट बचाएर खेले र समय समयमा बाउन्ड्री पनि प्रहार गरे। पाकिस्तानी बलरले उनको विकेट लिन सकेनन्।
साम करनको किफायती बलिङ
इङ्ल्यान्डका लागि साम करन ट्रम्पकार्ड साबित भए। उपाधि खेलमा उनले ४ ओभरमा १२ रन दिएर ३ महत्त्वपूर्ण विकेट लिए। सामले सबैभन्दा पहिले रिजवानलाई बोल्ड आउट गर्दै टोलीलाई प्रारम्भिक सफलता दिलाए। त्यसपछि उनले शान मसुदको विकेट लिए भने अन्तिममा मोहम्मद नवाजलाई मात्र ५ रनमा आउट गरे।
कात्तिक २७, २०७९ आइतबार २१:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।