गृहजिल्ला पुगेर पुनकाे गर्जन- 'संघ र सातै प्रदेशमा दुई तिहाईको गठबन्धन सरकार बन्छ'

रोल्पा : माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थ एवं ऊर्जामन्त्री वर्षमान पुनले ४ मंसिरको निर्वाचनमा सत्तारुढ गठबन्धनले संघ र सातवटै प्रदेशमा दुई तिहाई बहुमत प्राप्त गर्ने बताएका छन्।
गृहजिल्ला रोल्पाको माडी गाउँपालिकास्थित घर्तीगाउँमा शनिबार आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पुनले संघ र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने बताए।
केपी ओलीले जनमतको अपमान गरी पटक-पटक संसद विघटन गरेका कारण संविधान र लोकतन्त्र बचाउन वर्तमान गठबन्धन बनेको पुनको भनाइ थियो। उनले चुनाव जित्न र सत्ता स्वार्थका लागि मात्र गठबन्धन नभएको उल्लेख गरे।
‘जित्नकै लागि चुनावमा सहभागी हुने हो, तर सत्ता स्वार्थका लागि मात्र गठबन्धन भएको होइन’, उनले भने, ‘केपी ओलीको पटक-पटकको प्रतिगमनका कारण यो गठबन्धन बनेको हो। सत्ता स्वार्थका लागि मात्र भएको होइन।’
पुनले गठबन्धनले जनमतको सम्मान गर्ने भन्दै कुनै पनि हालतमा पाँच वर्षे कार्यकालको बीचैमा प्रतिनिधिसभा विघटन नहुने प्रतिबद्धता जनाए। उनले जनताको जनमतलाई शीरमा राखेर काम गर्ने प्रतिबद्धता पनि जनाए।
संविधानको रक्षा, राजनीतिक स्थायित्व, सुशासन, विकास र समृद्धिका लागि गठबन्धन बनेको भन्दै पुनले जनताले छिटोछरितो रुपमा घरदैलोमै प्रशासनिक सेवा प्राप्त गर्ने वातावरण बनाइँने उल्लेख गरे।
भौतिक तथा मानवीय पूर्वाधार, जनताको आयमा वृद्धि र जीवन स्तरमा सुधार नै असली अर्थमा समृद्धि भएको चर्चा गर्दै पुनले त्यसका लागि संघीय सरकार, सातवटै प्रदेश सरकार तथा स्थानीय तहबीच एकीकृत र समन्वयात्मक ढंगले काम गरिने प्रतिबद्धता जनाए।
जनताले व्यवस्था परिवर्तन गरी लोकतन्त्र र गणतन्त्रका लागि पटकपटक संघर्ष गरेको स्मरण गर्दै उनले अब भने अवस्था परिवर्तनको समय आएको चर्चा गरे।
पुनले निरंकुशता र प्रतिगमन रोक्न कांग्रेस–माओवादी एकै ठाउँमा उभिनुपर्ने बाध्यता सिर्जना भएको भन्दै विगतका तीतामिठा घटना बिर्सिएर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिए।
पुनले रोल्पा प्रदेशसभा (ख) मा बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका पूर्वजिल्ला इन्चार्ज दिपेन्द्र पुनलाई मतदान नगर्न कार्यकर्ता र मतदातालाई अपिल गरे।
कात्तिक २७, २०७९ आइतबार २०:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।