मंसिर २ गतेदेखि मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक

काठमाडौं : निर्वाचन आयोगले मंसिर २ गतेदेखि मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको छ।
आइतबार आयोगमा बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले मतदान शुरु हुने दिनभन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गर्न नेपाल प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो।
यस्तै आयोगले प्रचलित कानून बमोजिम त्यस्ता मादक पदार्थ जफत गर्नुपर्ने भए जफत गर्नसमेत गृह मन्त्रालय मार्फत नेपाल प्रहरीलाई निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
यस्तै बैठकले निर्वाचन आचारसंहिता विपरीतको काम कारबाही गरेको अवस्थामा जोसुकैलाई तत्काल स्पष्टीकरण सोधी कारबाही अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय पनि गरेकाे छ।
कात्तिक २७, २०७९ आइतबार १९:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।