सत्ता गठबन्धन स्याल हो एमाले सिंह : अध्यक्ष ओली

सुर्खेत : एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई स्यालको संज्ञा दिँदै एमाले सिंह भएको दाबी गरेका छन्।
आइतबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले मंसिर चार गतेको निर्वाचनले देशको भविष्य निर्माण गर्ने बताए।
‘यो सत्ता गठबन्धन स्याल हो भने नेकपा एमाले सिंह हो,’ उनले भने, ‘मंसिर ४ को निर्वाचन देशको भाग्य र भविष्य निर्धारण गर्ने निर्वाचन हो। देश बचाउने, देशको सार्वभौम सत्ता जोगाउने बलियो राष्ट्रिय शक्ति बनाउन जरुरी छ। हामीले एउटा जनताका आवश्यकतालाई मध्यनजर गर्दै घोषणापत्र ल्याउँदा गठबन्धनले छुट्टा–छुट्टै घोषणापत्र ल्याएर जनता छक्याउन खोजेको छ।’
पूर्वप्रधानमन्त्तीसमेत रहेको ओलीले देशी विदेशी शक्ति मिलेर एमालेलाई कमजोर पार्ने प्रयास गरिए पनि आफूहरू कमजोर नभएको दाबी गरे।
‘देशी विदेशी प्रतिक्रियावादी शक्ति मिलेर एमालेविरुद्ध मोर्चावन्दी र घेरावन्दी गरिरहेका छन् । सय वटा स्यालले एउटा सिंहलाई घेरावन्दी गर्न सक्दैनन्’,उनले भने, ‘त्यसका लागि एमाले एक्लै काफी छ।’
उनले गठबन्धनको नेतृत्व गर्ने प्रधानमन्त्री शेरबहादुर देउवालाई ५ पटक प्रधानमन्त्री भएर देशका लागि गतिलो के काम गरेको भन्दै नागरिकलाई प्रश्न गर्न अनुरोध गरे।
‘गठबन्धन सरकारको नेतृत्व गरिरहनु भएक प्रधानमन्त्री शेरबहादुरजीलाई तपाई्रहरू सोध्नुहोस् ५ पटक प्रधानमन्त्री भएको तपाईंले गतिलो के काम गर्नुभयो? दायाँबायाँ, अगाडि र पछाडि हेर्दा बरु एमालेले गरेका काम देखन्छिन् होला,’उनले भने।
ओलीले दुनियाँलाई चकित पार्ने गरि एमालेले बहुमत ल्याएर एमालेकै सरकार बनाउने दावी गरे। उनले अहिलेको गठबन्धन जस्तो म्यादी सरकार भन्दा पनि स्थायी सरकार बनाउने ठोकुवा गरे। गठबन्धनको कुनै उद्देश्य र नीति नभएकोले यसलाई कठपुतली भन्दा ठिकै हुने धारणा राखे।
ओलीले प्रचण्ड दक्षिणपन्थीका शरणमा पुगेपछि ताजा जनादेशका लागि जनताका चाहेको कुरालाई विरोधीले प्रतिगमन गरेको समेत बताए।
उनले त्यतिमात्र भनेनन् प्रचण्डलाई अर्काको देशको हतियार ल्याएर नेपाली जनताको घाँटी रेट्ने काम गरेको बताए।
ओलीले कार्यक्रमको अधिकांशसमय प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विरोधमै खर्चिएका थिए।
ओलीले कर्णालीका कालिकोट, दैलेख र सुर्खेत गरी तीन जिल्लामा पार्टीका आमसभालाई सम्बोधन गरेर फर्किएका छन्।
कात्तिक २७, २०७९ आइतबार १७:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।