११ घन्टापछि फूलचोकीमा हराइरहेका ४ विद्यार्थीको उद्धार

ललितपुर: ललितपुरको फुल्चोकीमा हराएका चार जना विद्यार्थीको ११ घण्टापछि उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।
काठमाडौंको मुलपानीमा रहेको नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालय कक्षा ११ र १२ मा पढ्ने १२५ जना विद्यार्थी फुल्चोकीमा घुम्न गएका थिए। उनीहरूसँग ९ जना शिक्षक पनि थिए।
शनिबार दिउँसो करिब २ बजे फर्किने क्रममा उनीहरूमध्ये ४ जना विद्यार्थी छोटो बाटो हिँड्न खोजेपछि उनीहरू जंगलमा हराएको प्रहरीले जनाएको छ।
सबै मिलेर खोज्दा पनि फेला नपरेपछि शनिबार साँझ करिब ७ बजेतिर उनीहरूले प्रहरी प्रभाग बाडेगाउँमा खबर गरेका थिए। खबर पाएपछि प्रहरी निरीक्षकसहित खटिएको २० जनाको टोलीले मध्यराति १ बजे उनीहरूलाई फेला पारेको छ।
कात्तिक २७, २०७९ आइतबार १५:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।