जनकपुरमा भएको नमूना मतदानमा १० प्रतिशत मत बदर

काठमाडौं: प्रनितिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी जनकपुरधाम उपमहानगरपालिका–१४ मा गरिएको नमूना मतदानमा करिब १० प्रतिशत मत बदर भएको छ। मतदाता शिक्षा कार्यक्रमअन्तर्गत समग्र विकास सेवा केन्द्रले आयोजना गरेको नमूना मतदानमा खसेको ५५ मतमध्ये पाँचवटा मत बदर भएको केन्द्रकी सम्झनाकुमारी राउतले जानकारी दिइन्।
मतदातालाई सही तरिकाले मतदान गर्ने विधिबारे जानकारी गराउँदै विगतमा हुने मत बदर सङ्ख्यामा न्यूनीकरण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सो वडाका मतदातालाई सही तरिकाले कसरी मतदान गर्ने, मतपत्रलाई कसरी पट्याउनेलगायतका विषयमा सहजीकरण गरिएको राउतले बताइन्।
मतदातालाई समग्र विकास केन्द्रका सहजकर्ता सम्झना राउत, आरती यादव र आर्थी पासवानले घर–घरमा पुगी मतदातालाई निर्वाचन आयोगले तयार पारेको सामग्री फिपकार्ड, ब्रोसरको प्रयोग गरी मतदान गर्ने, मतपत्र पट्याउनेलगायतका बिषयमा सहजीकरण गरेका थिए।
कात्तिक २७, २०७९ आइतबार ११:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।