कतार विश्वकप: कुन महादेशबाट कुन-कुन र कति टोली ?

काठमाडौं: कतारमा हुने विश्व फुटबलको महासङ्ग्राम विश्वकप आउन अब सात दिन मात्र बाँकी छ। यो विश्वकप फुटबलका दुई महान् खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको अन्तिम विश्वकप भएको हुँदा पनि फ्यानहरूका लागि विशेष छ।
कतारमा यसपटक सदाझैँ ३२ टोली उपाधिका लागि भिड्नेछन्। उपाधिको दावेदार अर्जेन्टिना र ब्राजिललाई मानिएको छ।
कुन महादेशबाट कुन र कति टोली ?
युरोपबाट १३ टोलीले यो विश्वकपमा सहभागिता जनाएका छन्। जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इङ्ग्ल्याण्ड, स्विटजरल्याण्ड, नेदरल्याण्डस्, पोर्चुगल, पोल्याण्ड र वेल्स युरोपका टोली हुन्। सबैभन्दा बढी टोली यही महादेशका छन्।
यस्तै एसियाबाट यसपटक पाँच टोली भिड्ने भएका छन्। कतार, ईरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया एसियाका टोली हुन्। यीमध्ये कतार आयोजक राष्ट्र भएकाले छनोट भएको हो।
अफ्रिकाबाट पनि पाँच टोली विश्वकप भिडन्तमा छन्। सेनेगल, घाना, ट्युनिसिया, मोरक्को र क्यामरून अफ्रिकन टोली हुन्।
फुटबलको पावरहाउस मानिने दक्षिण अमेरिकाबाट यसपटक ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरुग्वे गरी चार टोलीले विश्वकपमा प्रतिस्पर्धा गर्नेछन्।
यस्तै उत्तर अमेरिकी महादेशबाट अमेरिका, क्यानेडा, मेक्सिको र कोस्टारिकाले विश्वकपमा आफ्नो शक्ति देखाउनेछन्। ओसनिया (अष्ट्रेलिया यस वरपरका क्षेत्र)बाट अष्ट्रेलिया विश्वकपको भिडन्तमा छ।
कात्तिक २७, २०७९ आइतबार ११:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।