पुनः भूकम्प गएपछि घरबाहिर बस्नू भन्दै प्रहरीले गर्यो ‘माइकिङ’

काठमाडौं: खप्तडछान्ना गाउँपालिका–६ पाटादेवल केन्द्रविन्दु भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयलाई घरबाहिर बस्न भन्दै ‘माइकिङ’ गरेको छ। पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रामबहादुर बमका अनुसार गत मङ्गलबार मध्यरातिको भूकम्पले स्थानीयका घर चर्किएपछि उनीहरूलाई घरबाहिर बस्न भन्दै माइकिङ गरेको हो।
“मङ्गलबार राति आएको भूकम्पले चर्किएका घर शनिबारको भूकम्पले थप चर्कायो। भित्र बस्न जोखिम हुने भन्दै माइकिङ गरिरहेका छौँ”, उनले भने। उनका अनुसार पाटादेवल, राजकोट, तिउने, पुजारीगाउँमा घरबाहिर आगो ताप्दै बसेका छन्।
खप्तडछान्ना–५ मा पनि स्थानीय आगो ताप्दै बाहिर बसेका छन्। मङ्गलबारको भूकम्पमा चर्किएका घर थप चर्किएपछि स्थानीय चिन्तित भएको स्थानीय कुलप्रसाद जोशीले बताए।
जिल्ला सदरमुकाम चैनपुरवासीले सुदूरपश्चिमाञ्चल बोर्डिङ स्कुलको चौरमा रात बिताएका छन्।
कात्तिक २७, २०७९ आइतबार १०:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।