आचारसंहिता उल्लंघन गर्नेलाई आयाेगले तिरायाे २५ हजार रुपैयाँसम्म जरिवाना

आचारसंहिता उल्लंघन गर्नेलाई आयाेगले तिरायाे २५ हजार रुपैयाँसम्म जरिवाना

काठमाडौं : आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोधेको निर्वाचन आयोगले चित्तबुझ्दो जवाफ नदिएकालाई जरिवाना गरेको छ। 

गत स्थानीय चुनावमा स्पष्टीकरणमा चित्त बुझाएको आयोगले संघ र प्रदेशको चुनावमा भने कडा रूपमा प्रस्तुत हुँदै जरिबाना समेत गरेको हो।

आयोगले आचारसंहिता उल्लंघन गर्ने, उम्मेदवार, शिक्षक, कर्मचारी, जनप्रतिनिधिलाई ५ देखि २५ हजारसम्म जरिबाना तिराएको जनाएको छ।

आयोगले आचारसंहिता उल्लंघनमा बाराको पचरौता नगरपालिकाका प्रमुख जलन्धरसिंह जैसवारलाई सबैभन्दा धेरै २५ हजार रुपैयाँ जरिवाना गरेको छ।

काठमाडौं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुकार बमलाई आचारसंहिता उल्लंघनमै आयोगले ५ हजार रुपैयाँ जरिवाना गरेको छ।

त्यस्तै काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजाल, अछामका साँफेबगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक कुँवर, जनता आधारभूत विद्यालयका शिक्षक जीवछ यादव र व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अधिकृत गोकुल वस्तीलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँ जरिवाना गरेको छ।

यही कात्तिक २५ गतेसम्म प्राप्त स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएकाले विभिन्न उम्मेदवार जनप्रतिनिधि र कर्मचारीलाई कानूनबमोजिम जरिबानासहित कारबाही गरिएको आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेले जानकारी दिए।

फिल्डबाट आएको प्रमाणका आधारमा आचारसंहिता उल्लंघनमा कारबाही अघि बढाइएको उनको भनाइ  छ।

आयोगले आचारसंहिता उल्लंघनबारे अनुसन्धान गर्न सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई लेखी पठाएको छ भने आचारसंहिता विपरीत भएका कार्य रद्द गर्न निर्देशन दिएको छ।

उल्लंघन थप व्यक्ति तथा संस्थामाथि छानबिन भइरहेको र छिट्टै कारबाहीको निर्णय हुने जनाएको छ। आचारसंहिता उल्लंघनमा हालसम्म १०८ वटा स्पष्टीकरण सोधिएको छ।

कात्तिक २६, २०७९ शनिबार २१:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।