पीएम कपकाे उपाधि दाेस्राेपटक एपीएफलाई

काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै अर्को विभागीय टोली एपीएफ क्लबले दोस्रो पटक प्रधानमन्त्री(पीएम) कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आर्मीले दिएको १८० रनको लक्ष्य एपीएफले ३८ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएर पूरा गर्यो।
उसका लागि भुवन कार्कीले ५५, सुमित महर्जनले ३४, प्रदीप ऐरीले २०, सन्दीप जोराले १७ तथा आसिफ शेखले १४ र लोकेश बमले ८ रन बनाए। कप्तान शरद भेषवाकरले अविजित १६ रन जोडे।
आर्मीका जितेन्द्र मुखियाले २ विकेट लिँदा सोमपाल कामी, बिक्रम सोब र सुशन भारीले समान एक–एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ३९ ओभरमा अलआउट हुँदै १ सय ७९ रन बनाएको थियो।
उसका लागि राष्ट्रिय टोलीका नवनियुक्त कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ४९ रन बनाए।
जितेन्द्र मुखिया २४ रनमा अविजित रहँदा शुसन भारीले १९, राजेश पुलामीले १८, अर्जुन साउद १३, हरि चौहानले १५ रन, बिक्रम सोबले ६ तथा कप्तान बिनोद भण्डारीले ११ रन बनाए।
आर्मीलाई सस्तैमा समेट्न एपीएफका अमर सिंह रौटेला र मौषम ढकालले समान ३–३ विकेट लिए। किशोर महतोले २ विकेट लिए।
उपाधिसँगै एपीएफले नगद १० लाख पुरस्कार प्राप्त गरेको छ। उपविजेता आर्मीले ५ लाखमा चित्त बुझायो। सेमिफाइनलबाट बाहिरिएका पुलिस क्लब र मधेश प्रदेशले ५०–५० हजार हात पारे।
विवादका कारण ढिला सुरु भएको खेल ४० ओभरमा झारिएको थियो।
कात्तिक २६, २०७९ शनिबार १७:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।