ट्विटरले बन्द गर्‍यो ब्लु टिकको लागि आठ डलरको सदस्यता, के हो कारण?

ट्विटरले बन्द गर्‍यो ब्लु टिकको लागि आठ डलरको सदस्यता, के हो कारण?

एजेन्सी : ट्विटरले शुक्रबार ब्लु टिकको लागि आठ डलरको सदस्यता बन्द गरेको छ।

एलन मस्कले ट्विटर किनेपछि कम्पनीले ठूलो परिवर्तनको निर्णय फिर्ता लिएको यो पहिलो पटक हो। मस्कले ब्लु टिकको लागि नयाँ भुक्तानी नियम सुरु गरेका थिए तर यो अहिले रोकिएको हो।

ब्लु टिकको सदस्यता लागू भएदेखि नै धेरै ठूला ब्रान्डका फेक अकाउन्टहरू बनाएर उनीहरूले ब्लु टिक पनि पाएपछि यो कार्य रोकिएको हो। अहिले ती अकाउन्टहरू कम्पनीको वास्तविक खाताहरू जस्तै देखिन थालेका छन्।

यस्तै, एउटा घटनामा एली लिली नामको कम्पनीको फेक अकाउन्ट बनाइएको थियो जसमा ‘इन्सुलिन फ्री’ लेखिएको थियो। यसबारे ट्विटरले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। तर, कम्पनी एली लिलीले ट्विट गर्दै भनेको छ, ‘नक्कली लिली खाताबाट गलत सन्देश प्राप्त गर्नेहरूसँग हामी माफी चाहन्छौं।’

बढ्यो चिन्ता
यस घटनाले ट्विटरले गलत सूचना फैलाउने घटनाहरू बढाउन सक्ने चिन्ता बढाएको छ। यो घटनापछि शुक्रबार कम्पनीको शेयर मूल्य ४ प्रतिशतले घटेको हो।

एक अमेरिकी रणनीतिकारले आफूले वास्तविक एयरलाइन्सका नक्कली अकाउन्टहरू देखेको र त्यसले उपभोक्ताहरूलाई सम्पर्क गरिरहेका बताएका छन्।

‘यदि कसैले यात्रुको टिकटको जानकारी लिएर उडान रद्द गर्छ वा उसको क्रेडिट कार्डको जानकारी लिएर खर्च गर्यो भने के हुन्छ?’ अमेरिकामा आधारित पीआर रणनीतिकार म्याक्स बर्न्सले भने, ‘एउटा ठूलो घटनाले आफ्ना उपभोक्तासँग जोडिन ट्विटर प्रयोग गरिरहेका सबै एयरलाइन्स कम्पनीले यसको प्रयोग गर्न छाड्न सक्छन्।’

एलन मस्कले गत महिना ४४ बिलियन डलरमा ट्विटर किनेका थिए। त्यसयता उनले ट्विटरमा धेरै परिवर्तन गरिसकेका छन्। कम्पनीबाट उनले करिब ३७०० कर्मचारीलाई निकालेका छन्, जुन त्यहाँका आधा कर्मचारीभन्दा धेरै हुन्।

कर्मचारीहरूलाई पहिले कम्पनीले इमेलमा चेतावनी दिइएको थियो, ‘अगाडिको बाटो कठिन छ र सफलतालाई कडा परिश्रम चाहिन्छ। सब्सक्रिप्सनको आम्दानीविना ट्विटरलाई यो आर्थिक मन्दीमा बाँच्न गाह्रो हुनेछ।’

डिजिटल विज्ञापनको बजार घटेपछि ट्विटरमा आर्थिक मन्दी आएको हो। यसैबीच कम्पनीको भविष्यलाई लिएर शंक उपशंका उत्पन्न भउपछि ठूला ब्रान्ड र मार्केटिङ फर्महरूले यसमा खर्च गर्न बन्द गरेका छन्।

ट्विटर ब्लू सदस्यता सेवामा, प्रयोगकर्ताहरूलाई प्रति महिना ८ डलर तिर्न भनिएको छ। यसअघि निलो टिकका लागि पैसा लिने गरेको थिएन। ट्विटरको यो कदमले फेक अकाउन्टको चिन्ता बढेको छ। ट्विटर यस्तो ठूलो परिवर्तन ल्याएको पहिलो सामाजिक सञ्जाल प्लेटफर्म हो।

कात्तिक २६, २०७९ शनिबार १५:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।