महन्थ ठाकुर भन्छन्- यो अन्तिम उम्मेदवारी

काठमाडौं: लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले यसपटकको आफ्नो उम्मेदवारी अन्तिम रहेको बताएका छन्।महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएका ठाकुरले यसपछि आफूले अब निर्वाचन नलड्ने बताएका हुन्।
अध्यक्ष ठाकुरले मत माग्ने तथा घरदैलो गर्ने क्रममा मतदातालाई आफूलाई अन्तिमपटकका लागि भोट दिन आग्रह गर्दै आएका छन्।
यसअघि विसं २०७४ पनि यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी मधेशको पहिचान र हक–अधिकारसम्बन्धी केही काम गर्न बाँकी रहेकाले आफूलाई पुनः एकपटक जिताउन आग्रह गर्दै मत मागिरहेका छन्।
मतदाताले विकासको कुरा गर्दा उनले विकासभन्दा पनि कानून निर्माणका लागि र मधेश तथा मधेशीको हक–अधिकार स्थापित गराउनका लागि बढी समय दिने गरेको तर्क गरे।
साथै आफूले आफ्नो बजेटले भ्याएसम्म आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न जातजातिका देवी– देवताको मठमन्दिर, मस्जिद, पर्खाल, घेरा र सडक निर्माणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि काम गरेको र अझै पनि गर्दै जाने बताए।
कात्तिक २६, २०७९ शनिबार १३:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।