राष्ट्रिय खेलकुदमा पदक जित्ने खेलाडीलाई पोखरा महानगरले गर्यो सम्मान

पोखरा: नवौँ राष्ट्रिय खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीलाई पोखरा महानगरपालिकाले सम्मान गरेको छ। राष्ट्रिय खेलकुदमा सहभागी भएर पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १९२ जनालाई सम्मान गरिएको हो।
स्वर्ण पदक विजेता ३५, रजत पदक विजेता ३२ र कास्य पदक विजेता ८५ खेलाडीलाई सम्मानसहित क्रमशः जनही रु १५ हजार, रु १० हजार र रु पाँच हजार प्रदान गरिएको थियो। यसैगरी ३६ टोली व्यवस्थापक र ४० प्रशिक्षकलाई समेत सम्मान गरिएको थियो।
महानगर प्रमुख धनराज आचार्र्यले खेलाडीलाई प्रदान गरिएको रकम सानो भए पनि हौसला बढाउन सहयोगी हुने विश्वास व्यक्त गरे। खेलाडीको खेलजीवनको निरन्तरताका लागि आवश्यक सहयोग गर्न महानगरपालिका प्रतिबद्ध रहेको उनले बताए।
पोखरालाई पर्यटनको राजधानी बनाउने अभियानमा महानगरको टोली रहेको चर्चा गर्दै नगरप्रमुख आचार्यले खेलमार्फत पर्यटन प्रवर्द्धनसहित यहाँ आवश्यक पूर्वाधार निर्माण गरिने बताए।
महानगरले अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पोखरामा आयोजना गर्न लागेको ‘टुर दि पोखरा’ कार्यक्रमका क्रममा आगामी पुस ६ गते दोस्रो संस्करणको राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिता, २०७९ गर्ने जनाएको छ। पोखरा–१७ रानीवनबाट सुरु हुने उक्त प्रतियोगितामा देश तथा विदेशका साइकलयात्रीको सहभागिता रहने भएका छन्।
कात्तिक २६, २०७९ शनिबार १३:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।