यसरी जित्नसक्छ पाकिस्तानले विश्वकप

यसरी जित्नसक्छ पाकिस्तानले विश्वकप

एजेन्सी: अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकपको फाइनलमा पाकिस्तान र इङ्ग्ल्याण्ड भिड्दैछन्। फाइनल खेल नेपाली समयअनुसार भोलि दिउँसो १:४५ बाट सुरु हुनेछ।

पाकिस्तान १३ वर्षपछि टी ट्वेन्टी विश्वकपको फाइनलमा पुगेको हो भने इङ्ग्ल्याण्ड सन् २०१६ को टी ट्वेन्टी विश्वकप फाइनलमा वेस्ट इण्डिजसँग पराजित भएको थियो। दुवै टोलीको खातामा एक-एक टी ट्वेन्टी र एकदिवसीय विश्वकपको उपाधि छ।

पाकिस्तानी टोलीमा युवा खेलाडीको बाहुल्य छ। अघिल्लो टी ट्वेन्टी विश्वकपको उपाधि दावेदार मानिएको पाकिस्तान सेमिफाइनलमा अष्ट्रेलियासँग पराजित हुँदै निराश भएको थियो।

केही महिनाअघि सम्पन्न एसिया कपमा पनि फाइनलमा हारेको पाकिस्तानका लागि भोलिको खेलले घाउमा मल्हम लगाउनसक्छ। तर यसका लागि पाकिस्तानले निकै मेहनत गर्नुपर्ने छ।

टी ट्वेन्टी विश्वकप २०२२ को आधिकारिक वेभसाइटले आज पाकिस्तानले विश्वकप जित्नका लागि के कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने एक लेख सार्वजनिक गरेको छ। त्यहाँ उल्लेख भएअनुसार पाकिस्तानका लागि सबैभन्दा चुनौती आफ्नो ओपनिङ ब्याट्सम्यानद्वयको प्रदर्शन हो।

हालैका केही खेल हेर्ने हो भने ओपनरद्वय मोहम्मद रिजवान र बाबर आजमको प्रदर्शन उत्कृष्ट भए मात्र खेल पाकिस्तानको पक्षमा हुने देखिएको छ। फर्ममा रहेका बेला शतकीय पार्टनरशिप नै गर्नसक्ने क्षमता भएका यी ओपनरले छिटो र सुरक्षित पारी खेले अन्य ब्याट्सम्यान शान मसूद, मोहम्मद ह्यारिस, इफ्तिखार अहमद, शादाब खान लगायतलाई इनिङ अघि बढाउन सहज हुनेछ।

यस्तै बलिङतर्फ शाहीनशाह अफ्रिदी पाकिस्तानको प्रमुख हतियार हुन्। उनले सात खेलमा १० विकेट हात पारिसकेका छन्। उनलाई नसीम शाह र हारिस राउफले अर्कोतर्फबाट सहयोग गरे पाकिस्तानको बलिङ अट्याकसामु इङ्ग्ल्याण्ड गल्ने सम्भावना रहनेछ।

इङ्ग्ल्याण्डको ब्याटिङ अर्डर बलियो भएको र तल्लोक्रमसम्मै हार्ड हिटर भएकाले जतिसक्दो विकेट लिनसके पाकिस्तानका लागि फाइदाजनक हुनेछ। यसको लागि अफ्रिदीलाई शाह र राउफको सहयोग खाँचो पर्नेछ।

यस्तै अर्को महत्त्वपूर्ण पक्ष हो- फिल्डिङ। पाकिस्तानी टोलीको कमजोर पक्ष फिल्डिङ पनि हो। यद्यपि पछिल्ला केही खेलमा पाकिस्तानको फिल्डिङ बलियो देखिएको छ। र यही फिल्डिङ (क्याच र रन बचाउनु) निरन्तर भए भोलिको खेलमा इङ्ग्ल्याण्डका लागि ठूलो चुनौती हुनेछ।

यति भन्दाभन्दै पाकिस्तानलाई इङ्ग्ल्याण्डविरुद्धको खेल सहज हुनेछैन। इङ्ग्ल्याण्ड आफैँमा बलियो र फर्ममा रहेको टोली हो। पाकिस्तानी कप्तान बाबर आफैँले भनेका छन्- "इङ्ग्ल्याण्ड उत्कृष्ट टोली हो। उनीहरूसँग राम्रा खेलाडी छ्न्। उत्कृष्ट फास्ट बलर र ब्याट्सम्यान छन्। हामीले उत्कृष्ट ढङ्गले आफ्नो योजनाअनुसार खेल्नुपर्नेछ।”

कात्तिक २६, २०७९ शनिबार १२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।