हिउँ पर्न थालेपछि निर्वाचनमा भौगोलिक विकटता चुनौती

हिउँ पर्न थालेपछि निर्वाचनमा भौगोलिक विकटता चुनौती

काठमाडौं: मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि गण्डकी प्रदेशमा भौगोलिक विकटता चुनौती हुने देखिएको छ। मनाङ, मुस्ताङ र उत्तरी गोरखामा हिउँ पर्न थालेकाले ती स्थानमा चुनौती देखिएको प्रदेश सुरक्षा समन्वय समितिले जनाएको छ।

समितिका अनुसार गोरखाका २२, मनाङका पाँच र म्याग्दीका तीन वटा गरी ३० मतदानस्थलका मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने बाध्यता छ। यी क्षेत्रमा मतदातालाई मतदानका लागि समस्या हुने आँकलन समितिको छ।

समितिका सदस्य सचिव बद्रीनाथ अधिकारीले गण्डकीको सुरक्षा अवस्थाबारे जानकारी गराउँदै करिब १८ हजार सुरक्षाकर्मी खटाइने बताए। पोखरामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा राजनीतिक दल र उम्मेदवारबीच अस्वस्थ प्रतिस्पर्धा पनि चुनौती हुने विषयमा छलफल भएको थियो।

निर्वाचनमा परिचालित कर्मचारीको सुरक्षा, कर्मचारीको व्यवस्थापकीय त्रुटी, भौगोलिक विकटता र मौसमका कारण मतपेटिका ढुवानीमा हुनसक्ने कठिनाइ पनि निर्वाचन सुरक्षाका चुनौती हुन्।

गण्डकी प्रदेशमा प्रतिनिधि सभातर्फ एक सय ९६ र प्रदेश सभातर्फ दुई सय ३५ उम्मेदवार छन्। प्रतिनिधि सभातर्फ २२ महिला र प्रदेश सभातर्फ २९ महिला उम्मेदवार छन्।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले इजाजत लिएका हातहतियार अझै नबुझाएका कारण चुनौती बढेको बताए। “इजाजत लिएका हतियार एक हजार आठ सय हाराहारी मात्रै बुझाएका छन्। बाँकी हतियार आएको छैन”, उनले भने, “ अवाञ्छित गतिविधि होला भनेर १५ दिन अगाडिदेखि नै रक्सी बिक्री वितरणमा रोक लगाएका छौँ। ७२ घण्टाअगाडि बोर्डर सिल गरिन्छ।”

गण्डकीको गोरखामा रुइला भञ्ज्याङ, नवलपुरको छोटी भन्सार तथा मुस्ताङको कोरला नाका सिल हुनेछ।

कात्तिक २६, २०७९ शनिबार ०९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।