लज्जास्पद हारपछि भारतीय टोलीको कप्तान र प्रशिक्षक परिवर्तन गर्ने तयारी, पाण्ड्याले पाउन सक्छन् नेतृत्त्व

लज्जास्पद हारपछि भारतीय टोलीको कप्तान र प्रशिक्षक परिवर्तन गर्ने तयारी, पाण्ड्याले पाउन सक्छन् नेतृत्त्व

एजेन्सी: जारी टी ट्वेन्टी विश्वकपको सेमिफाइनल खेलमा लज्जास्पद तरिकाले हारेपछि भारतीय क्रिकेट टोलीको जमेर आलोचना भइरहेको छ। पाकिस्तानी पूर्वक्रिकेटरहरूले आईपीएल जस्ता लिगले भारतीय खेलाडीको प्रदर्शनमा असर गरेको बताएका छन् भने भारतीय सञ्चारमाध्यमलगायतले टोलीको कप्तान, प्रशिक्षक र अन्तिम ११ खेलाडी छनोटमा त्रुटि भएको बताएका छन्।

योसँगै अब भारतीय टोलीमा बदली हुने भएको छ। विशेषतः टी ट्वेन्टी टोली।

यसअघि सन् २०२१ को विश्वकपमा सोचेअनुरूप प्रदर्शन गर्न नसकेपछि टोलीका कप्तान विराट कोहली पदबाट हटेका थिए। पछि बीसीसीआई (भारतीय क्रिकेट बोर्ड)ले उनलाई अरू दुई फर्म्याटको कप्तानबाट पनि पदमुक्त गर्यो।

टोलीको नेतृत्त्व रोहित शर्मालाई दिइयो। आईपीएलका सफल कप्तान भनेर जिम्मेवारी सुम्पिए पनि रोहित ठूला खेलमा झन् असफल सावित हुँदै गए। पछिल्लो उदाहरण टी ट्वेन्टी विश्वकपको सेमिफाइनल खेल हो जहाँ इङ्ग्ल्याण्डले भारतलाई १० विकेटले हरायो।

अब बीसीसीआईले सिनियर खेलाडीलाई टोलीबाट हटाउने तयारी गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार, 'अबको एक वर्षमा टी ट्वेन्टी टिममा धेरै बदली हुनेछ। रोहित शर्मा, विराट कोहली, दिनेश कार्तिक र रविचन्द्रन अश्विन जस्ता खेलाडी विस्तारै बाहिरिनेछन्।'

यस्तै विश्वकपको प्रदर्शनलाई मध्यनजर गर्दा कार्तिक र अश्विनको अन्तिम खेल सेमिफाइनल नै भएको पनि उल्लेख गरिएको छ। यस्तै रोहित र विराटको भविष्यको फैसला भने बीसीसीआईले उनीहरूमाथि नै छोडिदिएको छ। सन्यास लिन दबाब नदिए पनि उनीहरू नभए पनि हुने गरी बीसीसीआईले तयारी अघि बढाएको छ। 

यसबीच बीसीसीआईले 'न्युजिल्याण्ड टुर'मा मुख्य प्रशिक्षक राहुल द्रविडसहित पूरै प्रशिक्षक स्टाफलाई आराम दिएको छ। यो टुरमा भीभीएस लक्ष्मण मुख्य प्रशिक्षक हुनेछन्।

यस्तै टी ट्वेन्टी र वान डे टोलीको कप्तानी अब हार्दिक पाण्ड्यालाई दिने तयारी पनि थालिएको छ। विशेषतः सन् २०२४ को टी ट्वेन्टी विश्वकपको तयारीको लागि पाण्ड्यालाई कप्तानी सुम्पिने बीसीसीआईको चाहना छ।

कात्तिक २६, २०७९ शनिबार ०८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।