आफ्नो चुनावी अजेण्डा सार्वजनिक गर्दै गोकर्ण विष्टले भने- 'एमालेले बहुमत प्राप्त गर्छ'

बुटवल: पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव गोकर्ण विष्टले आगामी मंसिर–४ को निर्वाचनबाट एमालेले बहुमत प्राप्त गर्ने दावी गरेका छन्। एमालेप्रति जनताको आकर्षण र उत्साह बढ्दै गएको दावी गर्दै उनले बहुमत प्राप्त गर्ने संकेतहरू देखापरेको उल्लेख गरे।
शनिबार बिहान गुल्मीको तम्घासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै विष्टले जनताले देशको नेतृत्त्व अब एमालेलाई सुम्पिने बताए। उनले अबको यात्रा सुरु गरिएका महत्त्वकांक्षी योजनाहरूको पूर्णता र समृद्ध नेपालको सपना साकार पार्नेतर्फ रहेको बताए।
गुल्मी क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका विष्टले गुल्मीमा आफूले सुरु गरेका विकास योजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताए। गुल्मी क्षेत्र नम्बर–२ लाई खरको छानामुक्त घर, अधिकांश जनताको घरमा विद्युतीय सेवा विस्तार, हरेक पालिकामा १५ शय्याको अस्पताल निर्माण सुरु लगायतका जनताका आवश्यकतालाई मध्यनजरगरी सुरु भएका अन्य योजनाहरूलाई पूर्णता दिने योजना प्रस्तुत गरे।
मदन भण्डारी राजमार्गलाई पूर्णता दिने, सालझण्डी-तम्घास जोड्ने सडक निर्माण, प्रत्येक वडालाई कालोपत्रे सडकले जोड्ने, कपिलवस्तुबाट गुल्मीमा विद्युत् सबस्टेशन निर्माण गर्ने चार अर्ब ७४ करोडको योजना पूरा गरी गुणस्तरीय विद्युत् सेवा प्रदान गर्ने लगायतका विकास योजना उनले प्रस्तुत गरेका छन्।
आफ्नो पहलमा सुरु भएका ५९ वटा पूलमध्ये बाँकी रहेका योजनाहरूलाई पूरा गर्ने, ट्रयाक खोलिएका ४२ किलोमिटर सडकलाई स्तरोन्नति गर्ने, लखनथापा रङ्गशाला निर्माण सम्पन्न गर्ने, मदन भण्डारी राजमार्गसँग जोडिएका रणनैतिक सडक योजनाहरूलाई पूर्णता दिने लगायतका विकास योजनाहरूमा आफ्नो चिन्ता रहेको उनले बताए।
विपक्षीको टीकाटिप्पणी र आलोचनाभन्दा पनि आफ्ना विकास योजनाहरू पूरा गर्नेतर्फ केन्द्रित रहेको उनले बताए। आफ्नो क्षेत्रमा रहेका असुरक्षित बसाइँलाई सुरक्षित स्थानमा स्थानन्तरण गर्ने, शिक्षाको पहुँचमा वृद्धि, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको संरक्षणसहित विकास गर्ने योजना रहेको उनले बताए।
कात्तिक २६, २०७९ शनिबार ०८:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।