छोरी मानुषीको पक्षमा प्रकाशमानलाई खुलाउन डा.बाबुरामले शुक्रबार चालेको चतुर चाल

काठमाडौं : चुनावी परिणाम आफ्नो पक्षमा पार्न प्रकाशमान सिंहले २०७४ को निर्वाचनमा जुन तहको दबाब ब्यहोरे त्यो भन्दा चर्को दबाब देखियो यो पटक। एमाले-माओवादी मिलेर लडेको २०७४ को निर्वाचनमा उनले तत्कालीन माओवादी केन्द्रका उम्मेदवार केन्द्रित निर्वाचन अभियान चलाउनु परेको थिएन। विवेकशील साझाबाट उम्मेदवार बनेका रवीन्द्र मिश्र केन्द्रित अङ्क गणितको आधारमा खटिनु परेको थियो।
तर २०७९ मा आफ्ना क्षेत्रमा उम्मेदवार बनेका अन्य चार उम्मेदवारको रणनीति र मतको गणित केलाउन बाध्य छन् उनी। पहिलो रवीन्द्र मिश्र चुनौतीको रूपमा पुन सोही क्षेत्रबाट उम्मेदवार बनेका छन्। तर यस पटक उनको राजनीतिक पहिचान बदलिएकाले केही होलो भएको हुनसक्छ सिंहलाई।
२०७४ मा गणतन्त्र अनि धर्म निरपेक्षतासँगै पुराना दलले केही गरेनन् भनेर वैकल्पिक राजनीतिक धारको निर्माण गर्ने अभियानमा थिए उनी। यस पटक संवैधानिक राजतन्त्र अनि हिन्दु धर्मको रामनामी ओढेका छन्। यसले हिजो उनले पाएको गणतन्त्रवादीको भोट नदोहोरिनसक्छ।
मिश्रबाट चुनौती घटे पनि एमालेबाट उम्मेदवार बनेका युवा सङ्घका अध्यक्ष किरण पौडेल, युवा मतदातामाझ राम्रै अपिल भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम, प्रहरी सङ्गठनमा रहँदाको साख बोकेर सांसद हुने लडाइमा होमिएका नेपाल पूर्व डिआइजी रमेश खरेलले बढाएको चुनौती कम छैन सिंहको।
त्यसको झलक शुक्रवार देखियो काठमाडौँ-१ मा। उनी शुक्रवार आफ्नो प्रचारका लागि डा बाबुराम भट्टराईलाई साथमा लिएर हिँडिरहेका छन्। जनता समाजवादी पार्टी छाडेर नेपाल समाजवादी पार्टी गठन गरेका डा बाबुरामको पार्टी पाँच दलीय गठबन्धनमा छैन। तर काठमाडौँ-७ मा उनको छोरी मानुषी यमीले पाँच दलीय गठबन्धनमा रहेको माओवादी केन्द्रबाट टिकट पाएकी छिन्।
बाबुरामको पार्टीको प्रभाव काठमाडौँ-१ मा बलियो देखिएको छैन। तर राष्ट्रिय छवि बनाउन सफल बाबुरामको समर्थनबाट अन्योलमा रहेका मतदातालाई आफूतिर आकर्षित गर्न सिंह समूहले वडा नम्बर ३१ को घर दैलोमा डा बाबुरामलाई सहभागी गराएको आङ्कलन सहजै गर्न सकिन्छ।
डा बाबुरामले प्रकाशमानको पक्षमा भोट माग्दा कांग्रेस समर्थक खुसी हुने नै भए। सो क्षेत्रका पाका मतदाताले बाबुरामलाई स्वागत गरिरहेका पनि थिए। तर रिक्सजोनमा रहेको युवा मतदाता भने प्रतिक्रियाविहीन देखिएका थिए।
मानुषीको प्रचारमा सहयोगका लागि बाबुरामको मुभ
प्रकाशमान सिंहसँग त्यति झ्याम्मिने नेता हैनन् डा बाबुराम। शुक्रवार देखिएको दुवै नेताको आत्मीयता प्राकृतिक पनि देखिएन। सिंहको पक्षमा भोट माग्न हिँड्नुको कारण खुलाउँदै उनले लोकतन्त्र नै खतरामा पर्छ भन्ने शङ्का बढिरहेको बेलामा सिंह जस्तो परिपक्व नेतालाई जिताउनु पर्ने तर्क गरे।
सँगै प्रकाशमानसँगको आफ्नो सम्बन्धलाई सिंह परिवारसँग लगेर जोड्दै भने' उहाँको दाइ त मेरो क्लास मेट हो।' केही दिन अगाडि डा बाबुरामले पिएल सिंहसँग समेत भेटेर सहयोग मागेका थिए।
बाबुराम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बनेको आफ्नो पुरानो निर्वाचन क्षेत्र गोरखा-२ को घरदैलोमा सक्रिय थिए। उनी छोरी मानुषीको घर दैलोमा समेत देखिएका छैनन्।
उनी एकाएक काठमाडौँ-१ मा प्रकाशमानको पक्षमा चुनावी प्रचारमै सहभागी हुनुमा काठमाडौँ-७ मा छोरी मानुषीको प्रचारमा सिंहको साथ खोजेको अर्थमा समेत हेरिएको छ। काठमाडौँ-१ मा बाबुरामको बलियो प्रभाव नदेखिए पनि काठमाडौँ-७ मा भने कांग्रेसका मतदातामा पार्टीसँगै प्रकाशमान परिवारको पनि बलियो प्रभाव छ नै।
बाक्लो नेवार बस्ती रहेको सो क्षेत्रमा प्रकाशमान मौन बस्नु र मानुषीको पक्षमा खुलेर भोट माग्नुले निर्वाचन परिणाममा प्रभाव पर्न सक्छ। यसबारे जानकार बाबुरामको शुक्रवारको मुभलाई सके प्रकाशमानलाई मानुषीको प्रचारमा पनि खुलाउने प्रयासको रूपमा हेरिएको छ।
कात्तिक २५, २०७९ शुक्रबार २०:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।