रुपन्देही- २ का स्वतन्त्र उम्मेदवार थापालाई हाम्रो नेपाली पार्टीको समर्थन, गठबन्धन 'ठगबन्धन' भएको आरोप

बुटवल: रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका रूपसिंह थापाले अहिले बनिरहेको गठबन्धनलाई ठगबन्धनको संज्ञा दिएका छन्। थापाले शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अहिलेको गठबन्धन जनताको काम गर्नुभन्दा पनि आफ्नो स्वार्थका लागि भएकाले गठबन्धन ठगबन्धन रहेको बताए।
निर्वाचनपछि संसद्मा जाँदा देशलाई कसरी समृद्ध बनाउने विषयमा गठबन्धन गरेर अघि बढ्नुपर्नेमा अहिले आफ्नो जितको स्वार्थलाई मात्र हेरेर ठगबन्धन गरेको आरोप उनले लगाए।
साथै थापाले अहिले देशमा परिर्वतन नयाँ अनुहारबाट हुने आशा मतदाताले गरेको भन्दै आफू मतदाताको घरदैलोमा पुग्दा सकारात्मक प्रतिक्रिया पाएको बताए। साथै उनले आफ्नो जित निश्चित भएको पनि दावी गरे।
सोही पत्रकार सम्मेलनमा थापाले आफूलाई हाम्रो नेपाली पार्टीले समर्थन गर्ने निर्णय भएको पनि बताए। उक्त पार्टीको लौरो चिह्न लिएर उम्मेदवार बनेका कमल भुसाल (निकोलस)को उम्मेदवारी खारेज भएपछि थापालाई सहयोग गर्ने सहमति भएको लुम्बिनी प्रदेश संयोजक ईशा खड्काले बताइन्।
संयोजक खड्काले स्वतन्त्रहरूलाई नै जिताउने आफूहरूको अभियान भएकाले थापालाई मतदान गर्न आग्रह गरिन्।
कात्तिक २५, २०७९ शुक्रबार १२:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।