पृथ्वी राजमार्ग विस्तार गर्न ४६६ रुख काटिने, ९० प्रतिशत कटान भइसक्यो

काठमाडौं: पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र गतिमा भइरहेको छ। सो क्रममा अब ४६६ रुख काटिने भएका छन्।
यसअघि मुग्लिङ–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका चार हजार दुई सय पाँच रुख कटान गरिसकेको छ। आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ। बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको उनले बताए।
“सबै रुख नकाटिन पनि सक्छन्”, उनले भने, “काट्नैपर्ने रुख मात्रै कटान गरेर बचाउन सकिने रुख बचाउनेतर्फ आयोजनाले योजना बनाएको छ।”
सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बनेका छन्। उक्त सडक खण्डमा दुई हजार चार सय बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनु पर्ने उनले बताए। सडक विस्तारका क्रममा सडकका दायाँबायाँ रहेका घर गोठ भत्काइँदा रु साढे आठ करोड क्षतिपूर्ति वितरण गरिसकेको ढकालले बताए।
व्यक्तिगत संरचना ७६७ र हाउसहोल्ड ८१० भत्काइएका छन्। आईपीएसमार्फत क्षतिपूर्ति रकम भुक्तानी गरिएको छ। उनले भने, “आर्थिक पारदर्शिताका लागि आयोजनाले उक्त प्रणाली अपनाएको हो।”
जग्गाधनी पुर्जा भएका र नभएकाबीच कुनै विभेद नगरी क्षतिपूर्ति दिइने योजना बनाइएको ढकाल बताउँछन्। क्षति भएका व्यक्तिलाई पुनर्वास योजनामा राखी आयमूलकतर्फ केन्द्रित गरिने उनको भनाइ छ।
आयोजनाबाट विस्थापित भएका, सीमान्तकृत, दलित, आदिवासीलगायतलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनका लागि सबल बनाउने योजना रहेको उनले बताए।
कात्तिक २५, २०७९ शुक्रबार ०८:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।