विनोद चौधरीको चुनाव प्रचारमा गएको भन्दै भुवन केसीलाई आयोगको पत्र

काठमाडौँ : नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको चुनावी प्रचारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण सोधेको छ।
केसी नवलपरासी- १ मा प्रतिनिधि सभा सदस्यका चौधरीको निर्वाचन प्रचारप्रसारमा सहभागी भएको भन्दै स्पष्टीकरण सोधेको हो।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन पाइँदैन।
आयोगले बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गरेको हो हैन र हैन भने के प्रमाण छ,
निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम कारबाही किन हुनु नपर्ने र
सरकारी पदमा बहाल रहेको व्यक्तिले जानाजान रूपमा निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिको प्रचारप्रसार गरेको ठहर भएमा विभागीय कारबाही किन हुनु नपर्ने भनेर सोधेको छ।
कात्तिक २४, २०७९ बिहीबार २१:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।