बलरको फिक्का प्रदर्शनले भारत-पाकिस्तानको फाइनल हेर्ने क्रिकेट प्रेमीको रहर भयो अधुरो
काठमाडौं : भारत र पाकिस्तानबिचको क्रिकेट प्रतिस्पर्धा कुनै युद्ध भन्दा कम हुन्न। त्यो पनि फाइनल भयो भन्ने माहौल कस्तो हुन्छ होला ! आइसिसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा यी दुबैबिच त्यस्तै प्रतिस्पर्धा हुने मौका आएको थियो।
तर भारत सेमिफाइनलमै इङ्ल्याण्डसँग लज्जास्पद रूपमा हारेपछि पाकिस्तान र भारतबिचको फाइनल हेर्ने क्रिकेट प्रेमीको चाहना रहर मात्र बन्यो।
टस जितेर इङल्यान्डले फिल्डिङ रोजेपछि भारतले उसलाई १६९ रनको लक्ष्य दिएको थियो। टी-ट्वान्टीमा यत्तिको चुनौती असम्भव हैन तर सहज पनि हैन।
तर इङल्याण्डका लागि त्यो लक्ष्य पुरा गर्न पुरा ओभर पनि खेल्नु परेन। ओपनर एलेक्स हेल्ले र जस बटलरको विस्फोटक ब्याटिङले कुनै विकेट नै नगुमाई १६ ओभरमा लक्ष्य भेट्यो।
एलेक्सले ४७ बलमा ८ छक्का र ४ चौकाको सहयोगमा ८६ रन बनाए। बटलरले ४९ बलमा ३ छक्का र ९ चौका हानेर ८० रन बनाए।
एडिलेड ओभलमा भएको प्रतियोगितामा भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो। हार्दिक पान्ड्याले ६३ रन बनाए भने विराट कोहलीले ४० बलमा ५० रन बनाए।
भारतीय टिमका खेलाडीले बनाएको यो नै सर्वाधिक स्कोर थियो। लोकेश राहुल ५ रनमा क्याच आउट भए। रोहित शर्मा २७ रनमा आउट भए। सूर्यकुमार यादव १४ रनमा आउट भए भने ऋषभ पन्तले ६ रन मात्र जोडे।
इंग्ल्यान्डका लागि क्रिस जोर्डनले ३ विकेट लिए। आदिल राशिद र क्रिस वोक्सले एक-एक विकेट लिएका थिए। क्रिस वोक्स र आदिल रसिदले समान १ विकेट लिए।
कुनै भारतीय बलरले इङल्यान्डको विकेट झार्न सकेनन्। इङल्याण्ड सहजै फाइनलमा गयो। अब पाकिस्तान र इङल्याण्डविच फाइनलका लागि प्रतिस्पर्धा हुनेछ।
इङल्यान्डका कप्तान बटलरले आयरल्यान्डसँगको हारपछि खेलाडीहरूले आफ्नो पुरानो छवि देखाउँदै सर्वश्रेष्ठ प्रदर्शन गरेको बताए।तीव्र अनि आक्रामक सुरुवात गर्ने टिमको चाहना रहेको र त्यसै अनुसार खेल भएको उनले प्रतिक्रिया दिए।
भारतीय कप्तान रोहित शर्माले खेलको नतिजा निराशाजनक रहेको बताए। ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गरे पनि बलिङ राम्रो नहुँदा हार भएको प्रतिक्रिया दिएका थिए।
नकआउटमा खेलाडीहरू दबाबमा पर्ने र कसैले झेल्ने त कसैले झेल्न नसक्ने भन्दै इङल्याण्डको बलरहरूले राम्रो प्रदर्शन गरेको बताए।
कात्तिक २४, २०७९ बिहीबार १८:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।