सुनिल गावस्करले भने– ‘पाकिस्तानले विश्वकप जिते बाबर आजम प्रधानमन्त्री हुनेछन्’

सुनिल गावस्करले भने– ‘पाकिस्तानले विश्वकप जिते बाबर आजम प्रधानमन्त्री हुनेछन्’

एजेन्सी : पाकिस्तानका धेरै फ्यानहरू जारी ट्वेन्टी–२० विश्वकप र १९९२ को एकदिवसीय विश्वकप बीचको समानता खोजिरहेका छन्।

सन् १९९२ मा इमरान खानको नेतृत्वमा रहेको पाकिस्तानी टोली प्रतियोगिताबाट बाहिरिने संघारमा थियो। त्यहाँबाट उसले उत्कृष्ट खेल देखाउँदै च्याम्पियन बनेको थियो।

बाबर आजमको नेतृत्त्वमा खेलिरहेको वर्तमान टोलीले पनि लगभग सोही अवस्थाबाट मुक्त भएर फाइनलमा स्थान बनाएको छ।

अहिले पाकिस्तानी टिमका फ्यानसँगै पूर्व खेलाडी र क्रिकेट विज्ञहरू पनि पाकिस्तानले विश्वकप जित्ने दाबी गरिरहेका छन्।

यसैबीच भारतका पूर्व कप्तान सुनिल गावस्करले बिहीबार व्यङ्ग्य गर्दै भने, ‘यदि पाकिस्तानले विश्वकप जित्यो भने २०४० मा बाबर आजम पाकिस्तानको प्रधानमन्त्री हुनेछन्।’

गावस्कर अहिले विश्वकप प्रसारण गर्ने च्यानलको कमेन्ट्री गरिरहेका छन्। बिहीबार एडिलेडमा हुने भारत र इङ्ल्यान्डबीचको दोस्रो सेमिफाइनलअघि उनले यो पन्चलाइन हानेका हुन्।

यो खेल जित्ने टोलीले आइतबार हुने फाइनलमा पाकिस्तानको सामना गर्नेछ।

सन् १९९२ मा विश्वकप जित्ने टोलीका कप्तान इमरान खान २०१८ मा पाकिस्तानको प्रधानमन्त्री बनेका थिए।

चाखलाग्दो कुरा के छ भने, सन् १९९२ मा सबै विज्ञहरूले पाकिस्तानी टोली प्रतियोगिताबाट बाहिरिने घोषणा गरिरहेका बेला गावस्करले इमरान खानको टोलीले विश्वकप जित्ने भविष्यवाणी गरेका थिए।

पछि च्याम्पियन टोलीको सम्मानमा सुनिल गावस्करलाई पनि पाकिस्तान बोलाइएको थियो।

कात्तिक २४, २०७९ बिहीबार १३:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।