पटक–पटक पत्र काट्दा पनि सुध्रिएनन् 'हाम्रो नेपाली पार्टी'का उम्मेदवार, ‘चिह्न’ चिनाउँछन् तर दल खुलाउँदैनन्

पटक–पटक पत्र काट्दा पनि सुध्रिएनन् 'हाम्रो नेपाली पार्टी'का उम्मेदवार, ‘चिह्न’ चिनाउँछन् तर दल खुलाउँदैनन्

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि दलहरूले चुनावी प्रचारलाई तीव्र बनाएका छन्।

पार्टीहरूले आफ्नो दका झण्डा र चुनाव चिह्नसहित मतदातालाई आफूतिर आकर्षित गरिरहेका छन्। तर केही यस्ता पार्टी पनि जसले दलको बारेमा भन्दा पनि चुनाव चिह्नको बारेमा मात्र प्रचार गरिरहेका छन्।

हाम्रो नेपाल पार्टीका उम्मेदवारहरू आफ्नो चुनाव चिह्न ‘लौरो’को व्यापक प्रचार गर्दै आफूहरू स्वतन्त्र उम्मेदवार भएको बताउँदै हिँड्ने गरेका छन्। दलबाट आएको भन्दा मतदातामा नराम्रो छाप पर्ने भएकाले पनि उनीहरू चुनाव चिह्नको मात्रै प्रचार गर्छन् र स्वतन्त्र उम्मेदवार भन्छन्।

‘लौरो अभियान’ भनेर सुरु गरिएको अभियानले पछि पार्टी दर्ता गरेर चुनाव चिह्न नै लौरो लिएको थियो।

काठमाडौं महानगरपालिकामा लौरो चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित भएसँगै लौरो चिह्नलाई नै ब्राण्ड बनाएर उनीहरूले पार्टी नै दर्ता गरे। तर, प्रचार गर्दा भने उनीहरूले दलकाे आबद्धता नखुलाइ आफूलाई स्वतन्त्र उम्मेदवार भन्ने गरेका छन्।

निर्वाचन आचारसंहितामा प्रचारप्रसारको क्रममा आफू आबद्ध दल खुलाउनुपर्नेमा उनीहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै आएपछि निर्वाचन आयोगले पटक–पटक ध्यानाकर्षण, निर्देशन र स्पष्टीकरण सोधेको छ।

बुधबार पनि आयोगले यस पार्टीका तर्फबाट सिराहा क्षेत्र नं. २ का उम्मेदवार शिवशंकर यादवलाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ।

पहिलो पटक स्वतन्त्र उम्मेदवार भन्दै प्रचार गरेपछि स्पष्टीकरण सोधिएका उनले यसपटक पनि उही कार्य दोहोर्याएपछि आयोगले कारबाहीको प्रक्रिया अघि बढाउँदै दोस्रोपटक स्पष्टीकरण सोधेको छ।

हाम्रो नेपाल पार्टीका उम्मेदवारले मात्र होइन राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले पनि यसअघि आफ्नो दलको आबद्धता नखुलाएपछि आयोगले स्पष्टीकरण सोधेको थियो।

कात्तिक २३, २०७९ बुधबार २१:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।