‘चुनावपछि देखाइदिन्छु’ भन्ने एमाले नेतालाई स्पष्टीकरण

काठमाडौंः निर्वाचन आयोगले हिंसात्मक एवं धम्कीपूर्ण अभिव्यक्ति दिने एमालेको तर्फबाट महोत्तरी क्षेत्र नं. १ का उम्मेदवार लक्ष्मी महतोलाई स्पष्टीकरण सोधेको छ।
महोत्तरी गौशाला स्थित रेडियो जुनतारामा मैथली भाषामा दिएको अन्तर्वार्तामा उनले स्थानीय रेडियोमा मैथली भाषामा दिएको अन्तरवार्तामा धम्कीपूर्ण एवं हिंसात्मक अभिव्यक्ति दिएपछि आयोगले स्पष्टीकरण सोधेको हो।
अन्तरवार्तामा उनले ‘अहिले चुनावका कारण धेरै दम राखेको छु। चुनावपछि देखाइदिन्छु। हारे पनि के हुन्छ, म सबैलाई तह लगाइदिन्छु, चाहे त्यो जुनसुकै कार्य क्षेत्रको होस्। कुरा बुझ्नुभो नि ! तपाईंले भोट दिनुहुन्न मलाई के फरक पर्छ, यहाँ त मेरै सरकार छ। त्यस्तो मान्छेलाई पिट्दिन भने के खुट्टा ढोगौं? खुट्टा ढोगेर काम लाग्छ? जानुस दिनु हुन्न मलाई नदिनुस्। तर, मैले केही दिन पहिले नै गौशाला बजारमा नगरपालिका र प्रहरीलाई भन्दा–भन्दा म आफैँ गएर एकाध थप्पड पिँटे। मैले चुनावका कारण धेरै धैर्यता राखेको छु। हारे पनि के हुन्छ र सबैलाई तह लगाइदिन्छु। कुनै पनि कार्यक्षेत्रको व्यक्तिलाई छोड्दिन। तपाईं भोट दिनुहुन्न के हुन्छ ? यहाँको स्थानीय सरकार मेरै हो। यसको रिजल्ट पाँच वर्ष सम्ममा आउँछ नि!’ भनेका थिए।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नु पर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (फ) मा ‘उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने’ व्यवस्था छ।
आचारसंहिताको दफा १३ को उपदफा (१) को (थ) मा ‘निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने’ व्यवस्था छ।
‘निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता लागू भई सकेको विषयको सम्पूर्ण जानकारी रहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को नेता तथा महोत्तरी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएको तपाईंले निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी अभिव्यक्ति दिनु भएको देखिन्छ,’ स्पष्टीकरण पत्रमा भनिएको छ, ‘पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, महोत्तरीमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहोला।’
मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असइ थमन विकको हत्यामा संलग्न रहेको आरोपमा महतोलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
महतो प्रहरीको फरार सूचीमा रहेका कारण वारेसमार्फत उम्मेदवारी दर्ता गराएको एमालेका एक नेताले बताए। जिल्ला अदालतको आदेशअनुसार १ लाख धरौटी राखेर तारेखमा रहेका महतो उच्च अदालतको आदेशपछि तारेख तोडेर अदालतको सम्पर्कमा नआई फरार छन्।
कात्तिक २३, २०७९ बुधबार १८:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।