१३ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तान, न्यूजिल्याण्ड सात विकेटले स्तब्ध

काठमाडौं : पाकिस्तान १३ वर्षपछि अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।
सिड्नीमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको छ।
अब पाकिस्तानले उपाधिका लागि भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ। भारत र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनल बिहीबार हुनेछ।
न्यूजिल्याण्डले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले १९ ओभर १ बलमा ३ विकेट गुमाएर १ सय ५३ रन बनाएर पूरा गर्यो।
पाकिस्तानको जितमा मोहम्मद रिजवानले ५७, कप्तान बाबर आजमले ५३ रन, मोहम्मद हरिसले ३० रन जोड्दा शान मसुदले अविजित ३ रन बनाए।
न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो।
उसका लागि ड्रयाल मिचेलले अविजित रहँदै ५३, कप्तान केन विलियम्सनले ४६, डेभोन कोन्वेले २१ रन बनाउँदा, जेम्स निशमले अविजित १६ रन बनाए।
पाकिस्तानका शाहिन शाह अफ्रिदीले २ विकेट लिए। मोहमद नवाजको नाममा एक विकेट रह्यो।
पाकिस्तानले तेस्रो पटक टी–ट्वान्टी विश्वकपको फाइनलमा स्थान बनाएको हो। यसअघि १३ वर्षअघि सन् २००९ मा पाकिस्तान फाइनलमा पुगेको थियो।
कात्तिक २३, २०७९ बुधबार १७:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।