फिर्ता भएको २४ घण्टामै फेरि हट्याे 'एमआरआर' ग्रुप

फिर्ता भएको २४ घण्टामै फेरि हट्याे 'एमआरआर' ग्रुप

काठमाडौं : चर्चित ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) फिर्ता भएको २४ घण्टामै पुनः हटेको छ।

नेपाली युवा पुस्तामाझ लोकप्रिय फेसबुक ग्रुप ‘एमआरआर’ मेटाले गत कात्तिक १३ गते हटाएकोमा मंगलबार विहानमात्र फिर्ता दिएको थियो।

कम्पनीको कम्युनिटी गाइडलाइन्स उल्लङ्घन भएको भन्दै मेटाले हटाएको पुनः ग्रुपलाई हटाएको एमआरआरका एक एडमिनले जानकारी दिए।

उनले भनेका छन्, ‘कम्युनिटी गाइडलाइन्स तोडियो भनिएको छ तर कुन पोस्ट, फोटो वा सदस्यले नियम तोड्यो भन्ने बारेमा जानकारी केहि पनि छैन। मानौँ कि, एमआरआर नाम हुनु नै अब कम्युनिटी गाइडलाइन्स तोडिनु हो।’

नेपाल नजिकिँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको बेला सामाजिक सञ्जालबाट हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न निर्वाचन आयोगले सामाजिक सञ्जालका विभिन्न कम्पनीहरूसँग सहकार्य गरिरहेको छ।

यही अभियानमा मेटाले ‘कम्युनिटी गाइडलाइन्स’ अत्यधिक उलङ्घन हुनुका साथै त्यसले निर्वाचनलाई प्रभाव पार्नसक्ने भन्दै फेसबुक पोस्ट र कमेन्टहरूमा निगरानी बढाएको छ। यसैबीच एमआरआर ग्रुपलाई मेटाले हटाएको थियो।

यद्यपि ग्रुपले आफ्नो फेसबुक पेज मार्फत निर्वाचन सम्बन्धी सामग्रीको कारण नभइ अन्य कारणले नै ग्रुप हटाइएको दाबी गरेको छ। ग्रुप हटाइनुको पछाडि के कारण थियो भन्ने विषयमा मेटाले केही उल्लेख नगरेको एमआरआरको भनाइ छ।

कात्तिक २३, २०७९ बुधबार ११:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।