प्यूठानमा जिप दुर्घटना : दम्पत्तीसहित तीन जनाकाे मृत्यु, ६ जनाकाे अवस्था गम्भीर

प्यूठानमा जिप दुर्घटना : दम्पत्तीसहित तीन जनाकाे मृत्यु, ६ जनाकाे अवस्था गम्भीर
सांकेतिक तस्बिर

प्यूठान : प्यूठानमा जिप दुर्घटना हुँदा दम्पत्तीसहित ३ जनाको मृत्यु भएको छ।

जिल्लाको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर प्यूठान नगरपालिका–५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापामगरका अनुसार दुर्घटनाबाट प्यूठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै ज्यान गएको हो।

त्यसैगरी, दुर्घटनामा परी १२ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि बुटवल रिफर गरिएको छ। बाँकीको विजुवार अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा परी घाइते हुनेमा प्यूठान नगरपालिका–५, बस्ने ५० वर्षीया फागुनी खत्री, ५० वर्षीया गोरी घर्ती, १९ वर्षीया बिरी कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीया निमा खत्री, ३० वर्षीया जुठी महरा, १८ वर्षीया कुमारी महरा, ४१ वर्षीया नखी महरा, ४७ वर्षीया गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेका छन्।

चालक प्यूठान नगरपालिका–९ का २३ वर्षीय बिनोद केएम सामान्य घाइते भएका छन्। जिप सडकबाट करिब १५० मिटर तल खसेको थियो।

कात्तिक २३, २०७९ बुधबार ०७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।