भूकम्पले घर भत्किँदा डाेटीमा एकै परिवारका ६ जनाको मृत्यु, पाँच जना घाइते

भूकम्पले घर भत्किँदा डाेटीमा एकै परिवारका ६ जनाको मृत्यु, पाँच जना घाइते
फाइल तस्बिर

डोटी : डोटी केन्द्रविन्दु भएर गएराति गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौँ घर भत्किएका छन्।

डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा पुरिएर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए। 

गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित ६ जनाको मृत्यु भएको बताए।

पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको हो।​भूकम्पमा परी पाँच जना घाइते रहेका र उपचारका लागि अस्पताल ल्याइएको भट्टले बताए।

उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको बताइएको छ।

स्थानीय शिक्षक मिनराज ओझाका अनुसार अधिकांशका घरमा क्षति पुगेको छ। ​भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रमा ठाउँ–ठाउँमा पहिरो गएको  दलबहादुर देउवाले बताए।

कात्तिक २३, २०७९ बुधबार ०७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।