चुनावी कार्यक्रममा उम्मेदवार असुरक्षित, कतै जुत्ता प्रहारको प्रयास, कतै झापडै हाने

काठमाडौं : सुरक्षाकर्मीको चनाखोपनले मङ्गलवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुत्ताको माला लगाउनबाट जोगिए।
सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रममा माओवादीकै पूर्व लडाकुले प्रचण्डलाई जुत्ताको माला लगाउने तयारी गरेका थिए। उनले जुत्ताले हान्न खोज्दा सुरक्षाकर्मीले नियन्त्रणमा लिन सफल भए। उनको झोलामा जुत्ताको माला थियो।
प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का कर्णाली प्रदेशका विभिन्न स्थानमा भएको वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गरेर सुर्खेत आएका थिए।
सुर्खेतको चिङ्गाडमा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा प्रचण्डलाई जुत्ता माला लगाउने प्रयास भएको हो। प्रहरीको हिरासतमा रहेका ती युवाबारे प्रहरीले परिचय खुलाएको छैन।
नेपाल प्रहरीले गरेको सुरक्षा चुनौती विश्लेषणमा प्रतिस्पर्धी दलका समर्थकबिच झडपदेखि नेतामाथि आक्रमण हुनसक्नेसम्म उल्लेख छ। त्यसको सङ्केत मङ्गलवार देखियो।
मङ्गलवार नै मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडामाथि कुटपिट नै भयो। चुनाव प्रचारकै क्रममा खतिवडा कुटिए।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का स्थानीयवासी पुरुषोत्तम खड्काले उनलाई झापड हाने।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–४ मा भोट माग्न पुगेका बेला खतिवडा गाडीबाट ओर्लिने बित्तिकै करिब ५० वर्षीय खड्काले दुई झापड हानेका थिए। खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। खतिवडा एकीकृत समाजवादीका नेता हुन्।
केही दिन अगाडि एमाले चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्दै गर्दा एक सहभागीले बालुवाटारमा सामन्त गोयललाई भेट्ने को हो?, भीम रावललाई किन टिकट नदिएको भन्दै प्रश्न गर्दै सम्बोधनमा अवरोध पूर्याउने प्रयास गरेका थिए।
सुरक्षाकर्मीले केही सहभागीले उनलाई चुप लगाउँदा सभामा थप अवरोध भएन। ओलीले उनको प्रश्नको उत्तर पनि दिएका थिए।
कात्तिक २३, २०७९ बुधबार ००:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।