कोटेश्वरको जाम हटाउने घोषणा गरेकी ओनसरीको घोषणापत्रमा अन्तर्राष्ट्रिय विमानस्थल मुनीबाट सुरुङमार्ग बनाउने योजना

कोटेश्वरको जाम हटाउने घोषणा गरेकी ओनसरीको घोषणापत्रमा अन्तर्राष्ट्रिय विमानस्थल मुनीबाट सुरुङमार्ग बनाउने योजना

काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर-२ की उम्मेदवार ओनसरी घर्ती मगरले अन्डरपासदेखि सुरुङमार्गसम्म समेटिएको घोषणा पत्र सार्वजनिक गरेकी छिन्। उनले मङ्गलवार सार्वजनिक गरेको घोषणा पत्रमा

काठमाडौँ-२ लाई राजधानीकै पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने उल्लेख छ। क्षेत्र नम्बर २ को सांसद भएको २ वर्षमा कोटेश्वरलाई जाम मुक्त गराउने दाबी गरेर चर्चामा आएकी उनको घोषणा पत्रमा प्राकृतिक पर्यटकीय सर्किट क्षेत्रको पूर्वाधार विकास, सांस्कृतिक सम्पदाको संरक्षण, फलफूल खेती एवम् कृषिमा आधुनिकीकरण र कृषि पकेट क्षेत्रको विकासका योजना समेटिएको छ।

उनले क्षेत्र नम्बर-२ साइकल लेनसहितको सडक सञ्जाल, विशेष खेलकुद क्षेत्रको विकास, साना तथा मझौला उद्योगको प्रवर्द्धन गर्ने कार्यक्रम घोषणापत्रमा राखेकी छिन्। गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य, सफा खानेपानी, प्रयाप्त सिँचाइको व्यवस्था, स्वच्छ र स्वस्थ वातावरण, सुरक्षाको प्रत्याभूति, साथै नागरिकलाई रोजगारीको अवसरहरू सृजना गर्ने उनले प्रतिबद्धता जनाएकी छिन्।

घोषणा पत्रमा साँखु–फड्केश्वर सडकलाई पूर्णता दिई मध्यपहाडी लोकमार्ग सडकसँग जोड्ने तथा साँखु- बज्रयोगिनी– घुमारचोक- डाँडाकटेरी–चौहीभञ्ज्याङ–धारापानी–पटाप –कुण्डेश्वरहुँदै सिन्धुपाल्चोक जोड्ने सडक निर्माणलाई पूर्णता दिने उनले प्रतिबद्धता गरेकी छिन्।

चाबहिल–साँखु सडकलाई मापदण्ड अनुसार यथाशीघ्र निर्माण सम्पन्न गराउने, शालीनदी–मनोहरा–मुलपानी–हरहर महादेव–पेप्सिकोला–नरेफाँट–बालकुमारी हुँदै मनोहरा कोरिडोर निर्माण गर्ने र सार्वजनिक यातायातलाई व्यवस्थित गर्न इलेक्ट्रिक ट्राम सञ्चालन गर्ने, मनोहरा खोलाको कटान तथा डुबान नियन्त्रण गर्न तटबन्ध निर्माण गर्नुका साथै जग्गा एकीकरण गर्न पहल गर्ने घोषणापत्रमा उल्लेख छ।

महिलाहरूको सशक्तीकरणका लागि उद्यमशीलताको विकास, महिला हिंसा न्यूनीकरण र क्षमता विकासका नीति तथा योजनाहरू बनाउने गठबन्धनको घोषणापत्रमा उल्लेख छ। गर्भवती महिलाको लागि निःशुल्क यातायातको सेवा प्रदान गर्ने, जनजाति तथा दलित वर्गलाई मध्यनजर गरेर आधुनिक र प्रविधिमैत्री उद्यमशीलता तथा सीप सिकाई केन्द्रहरूको स्थापना गर्ने घोषणा पत्रमा उल्लेख छ।

घोषणा पत्रमा उनले मनोहरा कोरिडोर निर्माण गर्ने तथा पेप्सीकोलादेखि सिनामंगलसम्म सुरुङ मार्ग निर्माण गर्ने प्रतिबद्धता गरेकी छिन्। अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मुनिबाट सुरुङमार्ग निर्माण गरी पेप्सीकोला–सिनामंगल आवतजावतको व्यवस्था मिलाउने उनको वाचा छ।

जडीबुटीदेखि तीन कुनेसम्म अन्डर पास निर्माण गरी कोटेश्वर क्षेत्रमा हुने गरेको ट्राफिक जाम हटाउने उनको योजना छ।

आवश्यक स्थानमा मेलम्ची खानेपानी आयोजना जडान गर्ने, तीनकुनेको मुआब्जासम्बन्धी समस्या समाधान गरी उक्त स्थानमा अन्तर्राष्ट्रियकरण पार्क निर्माण गर्ने फोहोर र ढल व्यवस्थापन गर्ने, पेप्सिकोला—ब्रह्मखेल सडकको निर्माण सम्पन्न गर्ने घोषणा पत्रमा उल्लेख छ।

शंकरापुरमा नेपालको कला, साहित्य र संस्कृति झल्किने गरी सांस्कृतिक ग्राम निर्माण गरी पर्यटन प्रवर्द्धन गर्ने, ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेका नेवा: सांस्कृतिक सहर साँखु, शालीनदी, बज्रयोगिनी तथा मणिचुड क्षेत्रलाई समेटेर सुन्दर धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न वृहत् गुरुयोजना तयार गरी  सोही अनुसारका संरचना निर्माण, सम्पदा संरक्षण, पर्यटकीय पथ, केबलकार निर्माणको पहल गर्ने साथै बज्रयोगिनी मन्दिरलाई विश्व सम्पदा सुचीमा सूचीकृत गर्न आवश्यक पहल गर्ने घोषणा पत्रमा उल्लेख छ।

कात्तिक २२, २०७९ मंगलबार २२:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।