भोट हाल्न मतदाता परिचय पत्र नचाहिने

भोट हाल्न मतदाता परिचय पत्र नचाहिने

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भोट हाल्न मतदाता परिचय पत्र अनिवार्य नगर्ने निर्णय गरेको छ। कतिपय मतदाताको परिचय पत्र हराएको या नासिएको हुनसक्ने भन्दै उसले परिचय पत्र अनिवार्य नगर्ने निर्णय गरेको हो।

आयोगको मङ्गलवारको बैठकले आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र भए त्यसैको आधारमा र परिचय पत्र नभए नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाण पुर्जा वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने निर्णय गरेको हो।

'अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ' आयोगले जानकारी दिएको छ।

निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको/नासिएको अवस्था भएमा अन्य प्रमाण खुल्ने परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जानकारी दिएको छ।

कात्तिक २२, २०७९ मंगलबार २१:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।