एमाले उम्मेदवारहरूको प्रचार गर्दा राअबीका सूचक कारबाहीमा

काठमाडौँ : सामाजिक सञ्जालमार्फत एमाले उम्मेदवारको प्रचार गर्दा राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक कृष्णप्रसाद आचार्य कारबाहीमा पर्ने भएका छन्। विभागको बर्दिया जिल्लामा कार्यरत उनले फेसबुकमार्फत एमालेका उम्मेदवारहरूको निर्वाचन प्रचारप्रसार गरेका थिए।
त्यसबारे निर्वाचन आयोगमा उजुरी परेपछि आयोगको छानबिनमा उनी दोषी देखिएपछि कारबाहीका लागि विभागलाई पत्र पठाएको छ।
आयोगले कुनै कर्मचारी वा पदाधिकारीले निर्वाचनको कामको सम्बन्धमा प्रचलित कानुन वा आयोगले दिएको निर्देशनको विपरीत कुनै काम कारबाही गरेमा आयोगले त्यस्तो कर्मचारी वा पदाधिकारी उपर निजको सेवा सर्तसम्बन्धी प्रचलित कानुन बमोजिम विभागीय कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउने व्यवस्था अनुसार उनलाई कारबाही गर्न लेखी पठाएको जानकारी दिएको छ।
आयोगले विभागसँग तीन महिनाभित्र उनलाई भएको कारबाहीको जानकारी गराउन भनेको छ।
कात्तिक २२, २०७९ मंगलबार २१:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।