निजी क्षेत्रमा काम गर्नेहरूलाई मतदानको दिन सहज गरिदिन व्यवसायीहरूलाई आयोगको आग्रह

काठमाडौं : निर्वाचन आयोगले निजी क्षेत्रका उद्योगी/व्यवसायीहरूलाई बोलाएर मङ्सिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसार र मतदाता शिक्षामा सहयोग गर्न आग्रह गरेको छ।
आयोगको कान्तिपथस्थित कार्यालयमा निजी क्षेत्रका उद्योगी/व्यवसायीलाई बोलाएर व्यावसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत सूचना सम्प्रेषण संयन्त्रमार्फत आयोगका सूचना तथा सन्देशहरू प्रवाह गरिदिन आग्रह गरेको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सामाजिक सञ्जालमार्फत समेत आयोगले बनाएको मतदाता शिक्षा, आचारसंहिता पालना लगायतका सामाग्री सम्प्रेषणमा सघाउन आग्रह गरेका हुन्।
उनले ब्यवसायीहरुलाई आफ्नो संस्थामा कार्यरत कर्मचारीलाई मतदान गर्न पाउने गरी सहजीकरण गरिदिनसमेत आग्रह गरेको आयोगले जानकारी दिएको छ।
उनले अहिले देशको अर्थतन्त्र निक्कै अप्ठ्यारो स्थितिमा रहेको तर निर्वाचनपछि माहौल परिवर्तन आउने बताएका थिए।
उनले संसारभरिको अभ्यासबाट निर्वाचनमा गरिने खर्च अनुत्पादक हुने देखिएको विश्लेषण गर्दै आयोगले निर्वाचनलाई मितव्ययी बनाउन निजी व्यवसायीलाई असर परेको भए क्षमा मागेका थिए।
प्रमुख आयुक्त थपलियाले मतदानका दिन अत्यावश्यक क्षेत्रका सवारी साधनका साथै आवश्यकता र औचित्यताका आधारमा अन्य सवारी साधनलाई व्यवस्थित र नियन्त्रित रूपमा सञ्चालन गर्न दिने विषयमा गृहकार्य भइरहेको बताएका थिए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष चन्द्र ढकालले निर्वाचन सफल बनाउने सन्दर्भमा आयोगले निजी व्यवसायीहरूलाई सम्झिएकोमा धन्यवाद दिएका थिए। उनले आफ्नो संयन्त्रमार्फत आयोगको आग्रह कार्यान्वयन गर्न सहयोग गर्ने बताएका थिए।
महासङ्घका उपाध्यक्ष अञ्जन श्रेष्ठले मतदानका दिन व्यावसायीहरुका सवारी साधन प्रयोग गर्न दिन र आफूहरूलाई पर्यवेक्षकका रूपमा जिम्मेवारी दिन आग्रह गरेका थिए।
कात्तिक २२, २०७९ मंगलबार १४:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।