अदालतले ३० वर्ष कैद तोकेपछि शौचालय गएका अजिव बुढा सात वर्षसम्म फरार, अहिले परे पक्राउ

बर्दिया : अदालतले ३० वर्षकाे कैद सजाय ताेकेपछि शाैचालय गएर सात वर्षसम्म फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ।
ठाकुरबाबा नगरपालिका -८ बस्ने २४ वर्षीय टोपे भन्ने अजिव बुढाक्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको हाे।
जिल्ला अदालतले २०७३ पुस २४ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना ६ दिन कैद र थुनुवा भगाएको मुद्दा समेतमा गरी जम्मा ३० वर्ष कैद सजाय ठहर भई फरार थिए।
ठाकुरबाबा नगरपालिका-८ बस्ने ६९ वर्षीय जोरा सिंह भन्ने जोरे थापा आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा २०७२ फागुन ५ गते राति अजिवले घरायसी रिसिईबीका कारण धारिलो हतियार दाउ प्रहार गरी हत्या गरी फरार थिए।
उनलाई फैसला कार्यान्वयनको लागि २०७२ फागुन ३० गते बर्दिया जिल्ला अदालतमा उपस्थित गराएको थियो। बयानपछि शौचालय जान्छु भन्ने बहाना गरी शौचालयको भ्यान्टिलेसनबाट निस्की फरार भएका थिए।
पक्राउपछि उनलाई बर्दिया जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाइएको छ।
कात्तिक २२, २०७९ मंगलबार १२:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।