पहिलाे हाेइन, दाेस्राे र पाँचाैं पार्टीका उम्मेदवारबीच चुनावी टक्कर

काठमाडाैं : मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा ललितपुरका क्षेत्र नम्बर १ र ३ का उम्मेदवारको जति चर्चा छ त्यति चर्चा छैन क्षेत्र नम्बर २ को। विभिन्न १४ दल र ८ स्वतन्त्र उम्मेदवार गरेर जम्मा २२ जनाको उम्मेदवारी परेको यस क्षेत्रमा प्रतिष्पर्धामा छन् एमाले र एकिकृत समाजवादी।
०७४ सालको चुनावमा निवर्तमान सांसद तथा कांग्रेसका उम्मेदवार चन्द्र महर्जन र कृष्णलालबीच भएको प्रतिष्पर्धा रोचक मानिएको थियो। कारण दुवैजना दाजुभाई थिए। दाइले जित्लान् कि भाइले जित्लान् ? चुनावको नतिजाको पर्खाइमा थिए। बाजी मारे कृष्णलालले।
नावी प्रतिष्पर्धामा अघिल्लो पटक एमालेबाट २७ हजार ७१३ मत ल्याएर विजयी भएका कृष्णलाल महर्जन छन्। तर, यसपटक उनी एकीकृत समाजवादीबाट पाँच दलको साझा उम्मेदवार बनेका छन्। एमाले विभाजनसँगै कृष्णलाल समाजवादीमा लागेका हुन्।
यस क्षेत्रमा एमालेले यसपटक प्रेमबहादुर महर्जनलाई उम्मेदवार बनाएको छ। २२ जना प्रतिष्पर्धी चुनावी मैदानमा भए पनि एमाले र सत्ता गठबन्धनका उम्मेदवारलाई नै मुख्य प्रतिष्पर्धीको रूपमा हेरिएको छ। २०७४ मा दाजुभाइको प्रतिष्पर्धाले ताताेको यो क्षेत्रको निर्वाचन अहिले एमाले र पूर्वएमालेको प्रतिष्पर्धाले तातिएको छ।
महालक्ष्मी नगरपालिका र ललिलतपुर महानगरपालिकाको वडा नम्बर ६, ७, ८, ९, ११, १२, १६ र १७ गरी जम्मा १९ वटा वडा रहेको यस क्षेत्रमा दुवै प्रतिष्पर्धीले चुनावी तयारी तीव्र पारे पनि प्रभाव भने खासै जमाउन सकेको देखिएन।
स्वतन्त्र उम्मेदवार डा. दिपेशकुमार केसीले सामाजिक सञ्जाल तताइरहेका छन्। अन्य पार्टीले पनि यस क्षेत्रमा प्रचारलाई तीव्रता दिएका छैनन्। समाजवादीका उम्मेदवारको यो तेस्रो उम्मेदवारी हो। उनीसँग संसदीय भूमिकाको अनुभव छ। तर, प्रेमबहादुरको यो पहिलो संसदीय यात्राको प्रयास हो।
कृष्णलाललाई गठबन्धनकाे फाइदा
गत वैशाखमा सम्पन्न भएका स्थानीय तहको निर्वाचनको मतअनुसार यहाँ कांग्रेसको मत बढि छ। ललितपुर महानगरको नेतृत्त्वमा कांग्रेस छ भने महालक्ष्मी नगरमा एमालेको। १९ मध्ये आठ वडामा एमाले नेतृत्त्व हुँदा छ वडामा मात्र कांग्रेस छ।
स्थानीय तहको मतपरिणाम अनुसार वडाध्यक्षका उम्मेदवारमध्ये कांग्रेसले २१ हजार ८१, एमालेले १७ हजार ७१२, माओवादीले ५ हजार २५४, राप्रपाले ३ हजार ५९३ र एकीकृत समाजवादीले ३ हजार १९२ मत पाएका थिए।
मतकाे आधारमा एकीकृत समाजवादी पाँचाैं पार्टी भए पनि पहिलाे र तेस्राे पार्टीले समर्थन गर्दा कृष्णलालकाे सम्भावना देखिन्छ। तर गठबन्धनका साझा उम्मेदवार भएकाले जितका लागि उनी आफ्नै दलको मतदातामा भन्दा अन्य दलको मतमा निर्भर छन्।
एमाले अनि पूर्व एमाले !
पहिलो पटक संसदीय चुनावमा होमिएका प्रेमबहादुरले कला संस्कृतिको संरक्षण र पर्यटनको प्रवर्द्धनका लागि ठोस योजना, लाँकुरी भन्ज्याङ सडक खण्ड, मानेदोवानमा रहेका तामाङ बस्तीको विकास, लगायतको सहरी विकासलाई आफ्नो अजेण्डा बनाएका छन्।
गठबन्धनका उम्मेदवार कृष्णलालले इँटाभट्टा उद्योग समेत सञ्चालन गरेका छन्। उनी ०४८ पछि भने व्यवसाय पूर्ण रूपमा छाडेर राजनीतिमा होमिए। कृष्णलाल यही क्षेत्रबाट संसद्मा धेरैपटक उपस्थित हुने सांसद्का रूपमा परिचित छन्।
अधुरा काम पूरा गर्नको लागि पुनः उम्मेदवारी दिएको उनले बताउँदै आएका छन्। अघिल्लो पटक ‘आफ्नो जित्ने आधार नै वाम गठबन्धन भएको’ भन्दै हिँडेका उनी यसपटक भने आफ्नो जित्ने आधार सत्ता गठबन्धन भएको बताउँछन्। कृषि, शिक्षा, र स्वास्थ्यको नीतिमा प्रभावकारी भूमिका निभाउने उनले अजेण्डा बनाएका छन्।
समस्या के ?
काँठ र शहरी इलाकाको संयोजनको रूपमा चिनिदै आएको यस क्षेत्र कला संस्कृति, विकास र पूर्वाधारका हिसाबले तुलनात्मक रूपमा केही अगाडि भए पनि खानेपानी र यातायातको सुविधामा कमजोर छ। शहरी क्षेत्र भए पनि विकासको विस्तार भने हुन सकेको छैन। उम्मेदवारको मुख्य चुनौती यही देखिन्छ।
कात्तिक २२, २०७९ मंगलबार १२:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।