अस्ट्रेलियाबाट प्रकाश दूतराजले भने ‘म केहि छिन हराउनु मर्नु हैन नि !’

काठमाडौं : गायक प्रकाश दूताराजले आफूले आत्महत्याको प्रयास नगरेको बताएका छन्।
कार्यक्रमको लागि अस्ट्रेलिया गएका उनले आत्महत्याको प्रयास गरेको भन्ने समाचार सोमबार नेपाली मिडियामा आएपछि उनले मंगलबार विहानै सामाजिक सञ्जालमार्फत आफूले आत्महत्याको प्रयास नगरेको बताएका हुन्।
उनले भनेका छन्, ‘म केहिछिन हराउनु क मर्नु हैन नि!’
गलत बुझाइ र सूचनाका आधारका समाचार प्रकाशित भएको भन्दै उनले आफूलाई माया गर्नेहरूसँग क्षमा मागेका छन्।
उनले लेखेका छन्, ‘गलत बुझाई तथा सुचना को आधारमा प्रकाशित समाचारहरुले मलाई माया गर्नु हुने सदा आशीर्वाद दिनुहुने हजुरहरु सबै सबैमा पर्न गएको असर प्रति क्षमा माग्दछु।’
स्थानीय समयअनुसार आइतबार राति २ बजे उनी झुण्डिने प्रयास गरेको समाचार प्रकाशित भएको थियो। २० अक्टोबरमा अष्ट्रेलिया गएका दूतराजले आफू सुत्ने कोठामा झुण्डिने प्रयास गरेको समाचारमा उल्लेख गरिएको थियो।
छोटो समयमा चर्चा र लोकप्रियता कमाएका गायक हुन्, दूतराज। उनले गाएका ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’, ‘चोली मैलै भो’, ‘रेलिमाई’ लगायत गीतहरू चर्चित छन्।
यस्तो छ उनको स्टाटसः–
कहिले काहि हराई दिन्छु , यसै यसै . .
कहिले हरियाली पाखा पखेरि , उकाली -ओराली चौतारी अनि देउरालीहरु सँगै . .
कहि उजाड बगर , मरुभूमिहरु सँगै बालुवा झैं उडिदिन्छु . .
कहिले समुन्द्रका छालहरुले अँगाल्दै गहिराईमा पुर्याई डुबाई दिन्छन् . .
कहिले अध्यारो बन्द कोठा भित्र घण्टौ सम्म आफैलाई थुनिदिन्छु . .
हजारौं कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन ।
यसलाई रोग भनु या मेरो विशेषता ।
यहि कारण पनि म आफुले आफैलाई दुखि बनाउँछु ।
धेरै समाचारहरु हेरे, पढे अलिक अप्ठ्यारो असजिलो महसूस गरे ।
“म केहि छिन हराउँनु म मर्नु हैन नि !
बोली मधुरो पार्दै आमाले फोन गर्नु भएको थियो , सानो दुखले जन्माएको हुर्काएको होईनौ नि तिमीहरुलाई . .
माया गर्नेहरु को आशुले सराप्छ ।
कसरी मार्न सक्थे र यो शरीरलाई ।
गलत बुझाई तथा सुचना को आधारमा प्रकाशित समाचारहरुले मलाई माया गर्नु हुने सदा आशीर्वाद दिनुहुने हजुरहरु सबै सबैमा पर्न गएको असर प्रति क्षमा माग्दछु ।
संधै संधै तपाईहरुकै मन भित्र बसिरहन खोज्ने तपाईहरुकै प्रिय कलाकार ,
प्रकाश दुतराज ।
कात्तिक २२, २०७९ मंगलबार ०९:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।