झापाको दुना–टपरी उद्योगमा आगलागी : २ करोडको क्षति, १६ जनाको रोजगारी गुम्यो

झापाको दुना–टपरी उद्योगमा आगलागी : २ करोडको क्षति, १६ जनाको रोजगारी गुम्यो
लिफ प्लस प्रालि दुना–टपरी उद्योगमा काम गर्दै कामदार/ फाइल तस्बिर

झापा : जिल्लाको मेचीनगर–९ मा रहेको लिफ प्लस प्रालि दुना–टपरी उद्योगमा गएराति आगलागी भएको छ।

मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर तयारी दुना टपरी, मेसिनरी लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ।

मेचीनगर, भद्रपुर, विर्तामोड, कमल र दमकको दमकलले सोमबार विहानमात्र आगलागी नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आगलागीबाट दुई करोड रूपैयाँको क्षति भएको उद्योगका सञ्चालक हरि दाहालले जानकारी दिए।

उद्योगले सुपारीको सुकेका पातलाई कच्चापदार्थका रुपमा प्रयोग गरेर आकर्षण दुना, टपरी, थाल, बटुका, चम्चा लगायतका सामान उत्पादन गर्दै आएको थियो। यहाँको उत्पादन युरोपका विभिन्न देशमा निर्यात हुने गरेको थियो।

झापामा सुपारी खेती हुने गरेको छ। खेर गइरहेको सुपारीको पातलाई मेसिनमा राखेर दुना र टपरी उत्पादन हुन थालेपछि स्थानीयवासीले समेत यसबाट मनग्य फाइदा पाएका थिए।

सञ्चालक दाहाल, स्वाभिमान आचार्य, विधान पोखरेल र कोविदसिंह बानियाँले पाँच कट्ठा जग्गामा २०७४ सालमा स्थापना गरेको लिफ प्लस प्रालिबाट १६ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए भने पात सङ्कलन कार्यमा सयौँले काम पाउँदै आएका थिए।

कात्तिक २१, २०७९ सोमबार १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।