भालुको पित्तसहित तीन जना भारतीय नागरिक पक्राउ, के मा प्रयाेग हुन्छ याे ?

काठमाडौं : प्रहरीले भालुको पित्तसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–६ बौद्धस्थित बौद्ध गेष्टो हाउसको १०९ नम्बरको कोठाबाट दुई थान भालुको पित्तसहित अरूणाञ्चल प्रदेश करुङ्ग कुमे घर बताउने ५५ वर्षीय ग्यमार तपरसहितलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
गेष्ट हाउसमा गत शनिबारदेखि बस्दै आएका उनीहरूले भालुको पित्त बिक्री गरेको सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा झोलामा लुकाइ राखेको अवस्थामा फेला पारेको थियो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
के काममा प्रयोग हुन्छ भालुको पित्त ?
भालुको पित्त गैरकानुनी रूपमा गोप्य अन्तर्राष्ट्रिय बजारमा पुग्ने र महँगो मूल्यमा बिक्री हुने गर्दै आएको छ। नेपालबाट भने चीन र भारतको बजारमा समेत लगिने गरेको छ।
भालुको कलेजोमा बन्ने पित्त उसको पित्ताशयमा जम्मा हुन्छ। भालुको पित्तलाई परम्परागत चिनियाँ उपचार पद्धतिमा कामोत्तजक औषधिका रूपमा प्रयोग गरिन्छ।
चीनले कोरोना भाइरसको बिरामीको उपचारका लागि पनि भालुहरुको पित्त प्रयोग गर्ने अनुमति दिएको थियो। नियन्त्रणमा लिइएका जीवित भालुबाट निकालिने पित्त लामो समयदेखि परम्परागत चिनियाँ औषधिका रूपमा प्रयोग हुँदै आएको छ।
चीनमा भालुहरूको पित्तमा हुने हुने सक्रिय तत्व उर्सोडीओजाइकोलिक एसिड पित्त थैलीमा हुने पत्थर पगाल्न र कलेजोसम्बन्धी रोगको उपचारमा प्रयोग गर्ने गरिएको छ। तर, भालुहरूको पित्त कोरोनाको उपचारमा फलदायी हुने कुनै प्रमाण छैन।
भालुबाट पित्त निकाल्ने काम सजिलो छैन र निकाल्दा जनावरलाई असाध्यै कष्ट हुने गरेको छ। कोरोना भाइरसको उपचारको लागि जंगली जनावरमाथि निर्भर नहुने भन्दै त्यसको विरोध समेत भएको थियो।
सन् २०१८ मा भियतनाममा पूर्वी र दक्षिणपूर्व एसियामा परम्परागत औषधिमा प्रयोग गरिने भालुको पित्तको खपतबारे गरिएको एउटा अध्ययनले उपभोक्ताहरूले पालन गरिएको भालुको पित्त सेवन गर्न कम रूचि राख्ने देखाएको थियो। तिनीहरू जङ्गली भालुको पित्तलाई बढी पैसा तिर्न इच्छुक थिए ।
नेपालमै पनि भालुको पित्त बाथरोगका लागि अचुक औषधि हुने भनेर तस्करले हल्ला फिँजाउने र बिक्री–वितरणका लागि व्यक्ति परिचालन गर्दै आएका छन्। त्यसैले नेपालभित्रै भालुको पित्तको तस्करी हुने गरेको छ। भालुको पित्त भन्दै नक्कली पित्त बेच्नेहरू पनि सकृय रहेका छन्।
कात्तिक २१, २०७९ सोमबार १३:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।